न्यौपानेको ‘दास प्रथाको नयाँ रुप’

काठमाडौं । सञ्चारकर्मी दामोदर न्यौपानेद्वारा लिखित ‘दास प्रथाको नयाँ रुप’ बजारमा आएको छ । मान्छेले मान्छेमाथि गर्ने अमानवीय व्यवहारलाई पुस्तकमा उधिनिएको छ । लेखक न्यौपानेको आठौं कृतिको रुपमा आएको यस पुस्तकमा विभिन्न १६ वटा क्षेत्रमा काम गर्ने श्रमिकको कथा समावेश गरिएको छ । लेखक न्यौपानेले बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको बताए ।

उनले मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले भोग्नुपरेको समस्यालाई नियालेर पुस्तक लेखेको जनाए । उनले भने, ‘झण्डै आठ वर्षको अनुसन्धान गरेर पुस्तक ल्याएको हुँ ।’ पाँच भागमा विभाजन गरिएको पुस्तकको पहिलो भागमा होटल, घरेलु, कलकारखाना, सडक, यातायात, भारी बोक्ने, खानी, इटाभट्टा, मनोरञ्जन क्षेत्र, गलैँचा बुन्ने, जरी बुन्ने मजदुरका साथै अन्य विभिन्न क्षेत्रका मजदुरका कथालाई उधिनिएको छ ।

त्यसैगरी, दोस्रो भागमा दासताबाट मुक्ति पाएका दुखियाको कथालाई समेटिएको छ भने तेस्रो भागमा बालदासताविरुद्ध संगठित रुपमा आवाज उठाइएको विषय छ । यसमा विशेषतः सिन्धुपाल्चोक कहानी, भक्तपुर कहानी, दोलखा कहानी, कर्णाली कहानी, पोखरा कहानी, चितवन कहानी, काठमाडौं कहानी, मोरङ कहानी, भोजपुर कहानी, झापा कहानी, काभ्रे कहानी समावेश छन् ।

साथै विभिन्न जिल्लामा बालश्रमको अवस्था, समाधानका उपाय लगायतका विषय रहेका छन् । चौथो भागमा इटाभट्टाको यथार्थ कहानीलाई चित्रण गरिएको छ । बाबुको बिहेको ऋण तिर्न भट्टामा श्रम गर्नेदेखि बाबुले छाडेर गएको ऋणको भारी तिर्न श्रम गर्ने टुहुरा बच्चा लगायतको दुःखान्त कथा रहेका छन् । त्यस्तै, पाँचौं भागमा पुस्तकको मुख्य विषयसहित निष्कर्षलाई समेटिएको छ । साथै बालश्रमिकको अवस्था तथा नेपालदेखि विश्वसम्म तथ्यांकलाई राखिएको छ ।

पुस्तकमा बाहिर सभ्य देखिने तर भित्र सडेका मान्छेको व्यवहारले सिर्जना गरेका दुष्परिणामलाई केलाउने कोशिस गरिएको लेखकले न्यौपानेले बताए । उनले थपे, ‘सभ्य देखिने तर असभ्य व्यवहार गर्ने मान्छेको हितका लागि काम गर्न बाध्य कलिला आधुनिक दासहरुको कहानी हो दास प्रथाको नयाँ रुप ।’

उनले सहरमा ठडिएका ठूला महल, मनोरञ्जन केन्द्र, होटल रेस्टुराँ, सडक, जरी उद्योग, गलैँचा कारखाना, यातायात, इटाभट्टा लगायतका क्षेत्रमा आफ्नो सपना खोजिरहेका कर्णधारको विषयलाई पुस्तकमा समावेश गरिएको जनाए । उनले भने, ‘पुस्तक साना हातले गरेका अनेक संघर्ष र सपनाको कथा हो ।’ पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया