आमा, सहायक श्रीमान र दुर्गामाण्डु उत्कृष्ट

काठमाडौं । तीन दिनदेखि जमलस्थित संस्कृतिक संस्थानमा जारी ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२१’ आइतबार सकिएको छ । महोत्सवमा यस वर्ष वृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) उत्कृष्ट भएको छ । यसमा हिमाली भेकमा बसोबास गर्दै आएका समुदायका महिलामा जारी बहुपति प्रथामा केन्द्रित थियो । यस्तै महोत्सवमा कथानक चलचित्रतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्रकुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ ।

यस चलचित्रमा बृद्धा आमाबुबालाई वृद्धाश्रममा राख्नेहरुको कथामा यो चलचित्र आधारित थियो । यस्तै, यो वर्ष डक्युड्रामातर्फ माधवराज खरेल निर्मित एवं निर्देशित वृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यसमा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।
यी तीनवटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँसहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्वारा आयोजित नवौं संस्करणको महोत्सव समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए ।

यो महोत्सवले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठूलो सहयोग पु¥याएको उनले बताए । चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरस्कार प्रदान गर्दै नेपालीभन्दा अफ्रिकन चलचित्र धेरैमाथि भएकाले हामीले उनीहरुबाट धेरै सिक्ने अवसर पाएको बताए । आइतबार नै महोत्सवमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो ।

सो बहसमा राजेश थापाले नेपाली चलचित्रको विगतदेखि अहिलेसम्मको अवस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे । सो अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

महोत्सवबाट आफूहरुले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताइन् । महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारीबीच पनि सामाजिक दुरी कायम गरेर आफूहरु महोत्सव सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सवमा नेपालका ७ वटा र अफ्रिकाका ८ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया