केशवको कार्टुन किताब

काठमाडौं । कार्टुनको विश्व परिवेशसँगै नेपालको अवस्था समेटिएको पुस्तक बजारमा आएको छ । कार्टुनिस्ट एवं लेखक केशव राज खनालाद्वारा लिखित ‘नेपालमा कार्टुन हिजो र आज’ को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्रकार, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्राज्ञ रमेशनाथ खनाल र कार्टुनिस्ट क्लब नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले संयुक्त रुपमा विमोचन गरे ।

नक्सालस्थित नाफा परिसरमा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले आयोजना गरेको कार्यक्रममा कुलपति कर्माचार्यले नेपालमा कार्टुन कलाको इतिहास धेरै लामो नभए पनि विमोचित पुस्तकले अभावलाई केही हदसम्म पूर्ति गर्ने बताए । उनले अनुसन्धानात्मक ढंगले लेखिएको यस पुस्तकमा उल्लेख तथ्यांक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरे ।

कुलपति कर्माचार्यले नेपालमा कार्टुन विधा केही ओझेलमा परेको बताउँदै यसको विकास गर्न र फलाउन फुलाउनका निम्ति प्रतिष्ठानले हरेक वर्ष कार्यक्रमका साथै विविध किसिमका प्रकाशनसमेत गर्दै आएको जनाए । उनले यो पुस्तक नेपाली कार्टुनलाई जान्न र बुझ्न चाहनेका लागि स्रोत सामग्री बन्ने विश्वास गरे ।

उपकुलपति चित्रकारले लेखक खनाललाई शुभकामना दिँदै कार्टुन विधा सबैभन्दा सशक्त र सन्देशप्रवाह गर्न उत्तम माध्यम भएकाले यसको विकासमा सबै लाग्नुपर्ने बताए । उनले पुस्तकले पत्रकारितामा रहेको कार्टुन विधालाई उठान गरेको धारणा व्यक्त गरे । कार्यक्रममा प्राज्ञ रमेशनाथ खनालले पुस्तकमा विश्व कार्टुनको इतिहासदेखि नेपाली कार्टुनको विगत र वर्तमान समेटिएको जनाए । उनले कार्टुन बनाउनेदेखि पढाउने शिक्षक समेतलाई पुस्तक उपयोगी हुने बताउँदै उनले भने, ‘कलाकारमाझ कार्टुन विधाको लोकप्रियता बढ्दै गएको छ । यसै सन्दर्भमा यो पुस्तकका लागि कला लेखक केशवराजलाई आग्रह गरिएबमोजिम नै तयार भएको छ ।’ प्राज्ञ खनालले आगामी दिनमा कार्टुन विधामा रहेका अनेकौं कोणलाई पनि प्रतिष्ठानले अनुसन्धान गराउँदै लैजाने बताए ।

नेपाल पत्रकार महासंघका महासचिव विष्टले कार्टुन कलालाई ललितकला र समाजलाई सुसूचित गर्ने पत्रकारिता दुवैको आँखाबाट हेरेर यसको सम्पूर्ण विकासको लागि लाग्नुपर्ने बताए । उनले छापामाध्यममा कार्टुन अनिवार्य छापे पनि अनलाइन माध्यममा यसले स्थान नपाएको जिकिर गरे । उनले भने, ‘कार्टुन पत्रकारिताको अभिन्न अंग हो । अनलाइन मिडियामा कार्टुन पत्रकारिताले महत्वपूर्ण स्पेस पाउनुपर्छ । यसतर्फ अनलाइन मिडियाको ध्यान तान्न जरुरी पनि छ ।’

महासचिव विष्टले कार्टुन कुनै पनि समय बुझ्नका लागि भविष्यमा सन्दर्भ सामग्रीका रुपमा रहने बताउँदै यस परिपेक्ष्यमा यो पुस्तक कार्टुनको संग्रहका रुपमा र सिर्जनाका रुपमा रहेको धारणा व्यक्त गरे । उनले भने, ‘कार्टुनलाई ललितकलाको नजरबाट हेरे कला र पत्रकारिताको आखाँबाट हेरे पत्रकारिताको विशिष्ठ अंगका रुपमा रहेको छ ।’ उनले कार्टुन प्रकाशन गर्ने पत्रपत्रिकामा सम्पादक सरह सम्मान दिइएको बताउँदै कार्टुनले हरेक व्यक्तिलाई तान्नसक्ने क्षमता राख्ने बताए । विष्टले भने, ‘जसरी यो सशक्त कला विधा हो, त्यसरी नै सशक्त पत्रकारिताको अंग पनि हो । कार्टुनले विभिन्न समयमा समाचारभन्दा सशक्त भूमिका खेल्दै आएको छ । यसै सन्दर्भमा लेखक केशव राजले लेखेको यस पुस्तकले राम्रोसँग कार्टुनलाई दस्तावेजिकरण गरेको छ ।’

यसैगरी कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुनको विविध पक्षलाई समेटेर राम्रो पुस्तक प्रकाशन भएको बताए । उनले दशकअघि अमेरिका भ्रमण गर्दा त्यहाँको पुस्तकालयमा कार्टुन विधामा भारतसहित अन्तर्राष्ट्रिय पुस्तक भेटिएको सन्दर्भ जिकिर गर्दै नाफाजस्तो राष्ट्रिय संस्थाले पुस्तक निकाल्दा अन्तर्राष्ट्रिय रुपमा प्रमाणिकरण गर्न सजिलो हुने धारणा राखे । श्रेष्ठले अन्य देशमा निकै धेरै कार्टुनको प्रकाशन रहेको भए पनि नेपालमा भने नगन्य रहेको विचार व्यक्त गरे । उनले भने, ‘यसैले यो पुस्तकले इतिहास र हालसम्मको अवस्थालाई केलाएको छ ।’

पुस्तकका लेखक खनालले चित्रकलामा स्नातकोत्तर गर्दा कार्टुन विषयमा शोध गर्न खोज्दा सन्दर्भ सामग्री नपाएर शोध पूरा गर्नै कठिन भएको स्मरण गर्दै पुस्तक लेखनमा त्यसले प्रोत्साहन मिलेको बताए । उनले भने, ‘इतिहासका केही कुरा कोट्याएको छु, आशा छ फेरि अन्य इतिहासका पुस्तक खोज्न नपरोस् । कार्टुनको कलापक्ष, राजनीति, क्यारिकेचर तथा व्यंग्य सबै विधालाई समेट्न खोजेको छु ।’ पुस्तक लेखनकै क्रममा पनि स्रोत सामग्रीको अभावमा निकै कष्ट झेल्नु परेको बताउँदै पुस्तकका लेखक खनालले अब यो विधामा लेख्न चाहनेलाई स्रोत सामग्री खोज्न पहिलाजस्तो भौतारिनु नपर्ने जिकिर गरे । उनले यो पुस्तक नै सम्पूर्ण नभएको बताउँदै पुस्तकमा विषय उठान गरिएको र प्रत्येक विधा र शीर्षकमा गहन अनुसन्धान गर्न सकिने बताए ।

लेखक खनालले लामो समयदेखि अनुसन्धान गरी तयार पारेको यो पुस्तक कला विधामा निकै कम र कार्टुन विधामा नगन्य रुपमा रहेको प्रकाशन परम्परालाई तोड्दै कार्टुन विधालाई पुस्तकका रुपमा सफल भएको कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले बताए । लेखकको रुपमा खनालको यो पहिलो पुस्तक हो । पुस्तकमा कार्टुन के हो देखि कार्टुन विधाका समस्या तथा समाधानका उपायसमेत चर्चा गरिएको छ । सानो आकारको पुस्तकको मुल्य २ सय रहेको छ । दुई दशकभन्दा लामो समयदेखि कलाकार, कार्टुनिस्ट, लेखक एवं कला पत्रकारको रुपमा काम गरिरहेका खनाल हाल गोरखापत्रमा कार्यरत् छन् ।

प्रतिक्रिया