सिरहा । सिरहाको नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरका डाक्टरको लापरबाहीका कारण एक वृद्धको मृत्यु भएको छ । सही उपचार नहुँदा र समयमा अन्यत्र उपचारका लागि रेफर नगर्दा नरहा गाउँपालिका–३ डन्डाटोलका ६४ वर्षीय रामसुफल महतोको बिहीबार राती मृत्यु भएको हो । मृतकका छोरा लालबिहारी महतोले डाक्टरको लापरबाहीले बुबा गुमाउनुपरेको भन्दै डाक्टरमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
बान्ता आउने र ब्लडप्रेसर हाइ भएर ९ गते सोमबार महतो हेल्थ केयरमा भर्ना भएका थिए । भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटकपटक अन्यत्र रेफर गर्न भने पनि यहीँ ठीक हुन्छ भन्दै चिकित्सक संजय यादवले जबर्जस्ती राखेको छोरा लालबिहारीले जनाए । उनले अन्तिममा आफ्नो केही नचलेपछि वडाध्यक्ष अनीसुल मियालाई ल्याएर भन्न लगाई बिहीबार बेलुका विराटनगर लग्ने क्रममा बाटोमै मृत्यु भएको बताए । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका छन् ।
उपचारमा संलग्न डाक्टर संजय यादब फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाले घटनाबारे थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले बताए ।यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रदीपराज कँणेलले क्लिनिकले बिरामी भर्ना लिन नपाउने कानुनी व्यवस्था रहेको तर सो क्लिनिकले तीन दिनसम्म राखेकाले आवश्यक कारबाही हुने बताए ।
प्रतिक्रिया