एमालेमा सकस : सम्वाद आरम्भ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको सकसलाई अन्त्य गर्नका लागि शिर्ष नेतृत्वबीच सम्वाद आरम्भ भएको छ । चार महिना लामो सम्वादहिनता तोड्दै सो पार्टीका नेताहरु पहिलो पटक एउटै पार्टी कार्यालय धुम्बाराहीको कोठामा बसेर छलफल गरेका हुन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा भएको छलफल कुनै ठोस सहमति नबनेपनि नेताहरुबीच मन माझमाझ गर्ने थलो मात्र बनेको थियो । छलफलका लागि संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र दलका उपनेता सुवास नेम्वाङ थिए । नेता माधवकुमार नेपाल पनि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, नेताहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित धुम्बाराही पुगेका थिए ।

भेटमा ओलीले एमालेभित्रको तित्तता हटाएर एक भएर अगाडी बढ्न प्रस्ताव गरेका थिए । तर, नेपालले माओवादीलाई पनि मिलाएर लैजानुपर्ने शर्त अगाडी सारेका छन् । बैठकको शुरुमा प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जिवन समाप्त गर्नेगरी तत्कालिन नेकपामा खेल भएको भन्दै शुरुवात गरेका थिए । उनले आफु अझै पनि एकताको पक्षमा रहेको भन्दै विगतको गल्तीलाई गल्ती मानेर अगाडी बढे एकता सम्भव रहेको बताए ।

ओलीकै भाकामा नेता नेपालले पनि आफ्नो कुरा राख्न थाले । ‘फेरि पनि पार्टी एकता गर्नुपर्छ । एकताको निम्ति पहल गर्नुपर्छ’ भन्दै उनले पनि माओवादीसँग फेरि मिल्न सकिने ठाउँ रहेको बताए । जनादेश पनि वाम एकताको पक्षमा भएको बताएका उनले एमालेबारे पनि सकारात्मक सन्देश दिने गरी नै बोले । छलफल शुरुवातमा सकरात्मक भएपनि कसरी अगाडी बढ्ने भन्ने विषय प्रवेश गरेपछि वातावरण बिग्रिएको थियो ।

नेता नेपालले फागुन २३ गते पछाडीका एमालेका सबै निर्णय खारेज हुनुपर्ने शर्त तेस्र्याए । त्यसपछि ओलीले ति निर्णय भईसकेको विषय भएकाले महाधिवेशनले मात्रै उल्टाउन सक्ने धारणा राखेपछि दुई नेताबीच घोचपेच शुरु भएको थियो । नेता नेपालले एमालेको २८ गतेको निर्णयले वातावरण बिग्रिएको बताउदै त्यसलाई सच्याउनुपर्ने माग गरे । त्यसपछि ओलीले विगतको कुरा निकाल्दै आफुलाई त साधारण सदस्यबाट एक पटक होइन् चार चार पटक निकालेको भन्दै धारणा राखेका थिए ।

‘तपाईंहरूले त मलाई के के गर्नुभयो, चार/चार पटक त साधारण सदस्य समेत नरहेने गरी निकाल्नु भयो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले मलाई केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो’, ओलीले भनेका थिए, ‘मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । त्यो कुरा गर्नुभयो भने सबै कुरा कोट्याएर जान चाहान्न ।’ तर, नेता नेपालले आफुहरुले गल्ती नस्विकार गर्ने भन्दै बाहिरिएका थिए ।

करिव दुई घण्टा चलेको वार्तापछि नेताहरुले पनि वार्ता सकरात्मक भएको बताएका छन् । शुरुवाती छलफल भएकाले कुनै निष्कर्ष ननिस्किएको भन्दै फेरी हुने वार्ताले सहज वातावरण बनाउदै लैजाने नेताहरुको भनाई छ । ओलीसँगको वार्तापछि आफ्नो गुटको भेलामा नेता नेपालले ओलीले वार्तामा अलमल पार्न खोजेको भन्दै राष्ट्रिय भेला नरोकिने बताएका छन् । चैत्र ४ र ५ गते हुने राष्ट्रिय भेला नरोकिने र मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको चियापानमा पनि नजाने निष्कर्ष निकालेको छ । ओलीले राष्ट्रिय भेला रोकेर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए । उनले सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि टेलिफोन गरी सम्वादका लागि आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया