मेयर्स कप क्रिकेट : बागमती प्रदेशको पहिलो जित

काठमाडौं । सोनु देवकोटाले घातक बलिङको मद्धतले विभागीय टिम एपीएफलाई हराउँदै बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेटमा पहिलो जित निकालेको छ । नन्दन यादव र ज्ञानेन्द्र मल्लको अर्धशतक र देवकोटाले घातक बलिङ गरेपछि बागमती प्रदेशले एपीएफलाई पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा लगातार दुई खेल हारेको बागमतीले मंगलबर कीर्तिपुरस्थित त्रिवि मैदानमा एपीएफलाई २७ रनले पराजित गर्न सफल भयो । अघिल्लो दुई खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबमाथी समान १ विकेटको जित निकालेको एपीएफको यो पहिलो हार हो । बागमतीका सोनुले ६ विकेट लिएपछि २३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४.५ ओभरमा सबै विकेट गुमाएर २०३ रनमा अलआउट भयो ।

एपीएफका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ३८ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५० रन बनाएका हुन् । यस्तै शंकर रानाले २९, अमर रउटेलाले २७ र सन्दीप जोराले २५ रन जोडे । एपीएफलाई अलआउट गर्न बागमतीका सोनुले १० ओभरमा ४१ रन खर्चेर ६ विकेट लिए । यस्तै रामनरेश गिरीले ८ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । अरियो पौडेलले ५.५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २३३ रन बनाएको थियो । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ६० रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका नन्दनले ५६ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६० रन जोडे । नन्दनले छैटौं विकेटका लागि आदिल खानसँग ७३ रनको साझेदारी गरे । यस्तै कप्तान ज्ञानेन्द्रले ५७ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका प्रहार गरे । आदिल खानले ३४ र पारस खड्काले २९ रन जोडे । बलिङमा एपीएफका किशोर महतो र अमर रउटेलाले २–२ विकेट लिए । यस्तै अभिनाश बोहरा र वसन्त रेग्मीले समान १ विकेट लिए । पहिलो हार व्यहोरेको एपीएफको ३ खेलबाट ४ अंक छ ।

यस्तै मंगलबारै आर्मीलाई पराजित गर्दै दोस्रो जित हात पारेको नेपाल पुलिसको पनि ३ खेलबाट ४ अंक नै छ । आर्मी र बागमतीको समान २ अंक छ । काठमाडौं मेयर्स ११ को पनि ३ खेलबाट २ अंक नै छ । प्रतियोगिता अन्तर्गत बुधबार एक खेल हुनेछ । त्रिवि मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र काठमाडौं मेयर्स ११ बीच प्रतिस्पर्धा हुनेछ ।

आर्मीमाथी पुलिसको जित
नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए तर टिमको हार टार्न सकेनन् । पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ३९, दिलिप नाथले १५, पवन सर्राफले अविजित २२ रन बनाए । ४८ रन बनाउँदा १ विकेट मात्र गुमाएको पुलिसले त्यसपछि लगातार विकेट गुमाएको थियो । आर्मीका आलमले ९ ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर ७ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । उसका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यसअघिका दुई खेलमा सोमपाल कामीसँगै ओपनिङ गरेका लोकेशले पुलिस विरुद्ध भने नवौं नम्बरमा ब्याटिङ गरेका थिए । उनले २४ बल खेल्दै २ चौका ३ छक्का प्रहार गरे । नवौं विकेटका लागि लोकेशले विक्रम सोबसँग ४१ रनको साझेदारी गरेका थिए ।

४३ रन हुँदा ८ विकेट गुमाएको आर्मीका लागि लोकेश र विक्रमको साझेदारीले केही रन उकासिएको थियो । विक्रमले १४ रन जोडे । यस्तै रोहित पौडेलले १३ रन बनाए । यी तीनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीलाई अलआउट गर्न पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए । आर्मीविरुद्ध सागरले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए । यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ५.१ ओभर बलिङ गर्दा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया