स्याङ्जा । जिल्लामा सिद्धार्थ राजमार्गसँग जोडिएका दुई वटा सहायक सडकको एकैदिन शिलान्यास गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले आइतबार वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र सेती बेनी, पेलाकोट गल्याङ चापाकोट हुँदै नवलपुरको डण्डा जोड्ने सडकको कालोपत्रे गर्ने कार्य शुभारम्भ गरिन् । भुम्रेदेखि सेती बेनी हुँदै गुल्मीसम्म जोड्ने सडकलाई निवार्चन क्षेत्र सडकअन्तर्गत ४० करोडको बहु वर्षीय ठेक्का माध्यमबाट निर्माण कार्य अगाडि बढेको हो । त्यसैगरी सेती बेनी गल्याङ हुँदै नवलपुरको डण्डा जोड्ने सडकको बिभिन्न खण्डअन्तर्गत निर्माण कार्य भइरहेको छ । सोही सडक खण्डको गल्याङदेखि सेती बेनीसम्म पाँच करोडको सम्झौता भई १५ करोडको निर्माण कार्य टेन्डरको प्रक्रियामा रहेको छ ।
शिलान्यास गरिएका दुवै सडक खण्ड विश्व विराट शालिग्राम शिला सेती बेनीसँग जोडिने भएकोले निर्माण कार्य सम्पन्न हुँदा यो सडक धार्मिक पर्यटकीय गन्तव्यको सडक बन्नेमा यहाँका सर्वसाधारण विश्वस्त छन् । त्यति मात्र होइन हिमाली क्षेत्र मुक्तिनाथदेखि तराई क्षेत्रको खाद्यान्न तथा फलपूmल आयात निर्यात गर्न पनि सहज हुने देखिन्छ ।
जिल्लामा सिद्धार्थ राजमार्गसँग जोडिएको सहायक भित्री सडकहरूको पिच गर्ने अभियानअन्तर्गत यहाँका दर्जनाँै सडक पिच भइसकेको मन्त्री अर्यालले बताए । कालोपत्रे शुभारम्भ गर्दै विगत ३० वर्षमा हुन नसकेको काम वर्तमान सरकारले तीन वर्षमा गरेको मन्त्री अर्यालले बताइन् । अर्यालले भनिन्, ‘इतिहासमा कम्युनिस्ट सरकारले गरेको काम कसैले गरेको छैन, जुन तथ्यमा आधारित छ ।’ स्याङ्जामा ३० वर्ष यता सरकारी पक्षबाट कालोपत्रे कसैले गर्न नसकेको अर्यालले बताइन् ।
विकासमा मुलुकले फड्को मारेको बताउँदै उनले यो विश्लेषण अन्तर्राष्ट्रिय मापदण्डले गरेको बताइन् । ‘लिम्पियाधुरा लिपुलेक सहितको नक्सा जारी गर्नेदेखि मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेका छ । रेल, पानी जहाज, सडक, सगरमाथाको उचाइ मापनजस्ता काम उदहारण छन्’, मन्त्री अर्यालले भनिन् । नेपालले विभिन्न खुड्किलाहरू पार गरेको अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको भन्दै मन्त्री अर्यालले उच्चस्तरीय आर्थिक वृद्धि सरकारको अबको लक्ष्य भएको बताइन् ।
स्याङ्जा
प्रतिक्रिया