भक्तपुर । नेपालको पुरातात्विक तथा सांस्कृतिक सम्पदा झल्कने कला प्रदर्शनी भएको छ । चाँगुनारायण मन्दिर परिसरमा डेढ दर्जन कलाकारका स्थलगत रुपमा तयार पारिएका चित्र प्रदर्शनीमा राखिएको हो । शनिबारीय स्थलगत चित्रकला अभियानले चार हप्तादेखि गरेको स्थलगत कार्यशालामा तयार पारेका चित्र प्रदर्शनीमा राखेको हो । प्रदर्शनीको अवलोकनपछि चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले संस्कृति, प्रकृति र पुरातात्विक सम्पदा चित्रकलामा व्यक्त भएको बताए । उनले भने, ‘कला र संस्कृतिले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय रुपमै चिनाएको छ । लिच्छवीकालीन चाँगुनारायण मन्दिर नेपालको मात्र नभएर विश्वकै लागि निकै महत्व र पुरातात्विक सम्पदा हो ।’ उनले ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चाँगुलाई कलाकारले चित्रमार्फत चिनाउने काम गरेको बताए ।
अभियानका अभियन्ता राकेशचन्द्र श्रेष्ठले कलामार्फत चाँगुको ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई कलाकारले उजागर गरेको बताए । उनले कलाले समाज र राष्ट्रलाई सभ्यताको मार्गमा हिँडाउन मद्दत गर्ने भएकाले आफूहरुले अभियानमार्फत कलाकारलाई उत्प्रेरित गरेको जनाए । अभियानका संयोजक दिवेश प्रधानले हरेक शनिबार आफूहरुले प्राकृतिक, सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक स्थलमा पुगेर कला रचना तथा प्रदर्शनी गर्दै आएको बताए । उनले भने, ‘कलाकारले आफ्नो सहजता अनुसार माध्यम र विषय चयन गरे पनि विशेषगरी सम्पदा, संस्कृति र नेपालको प्रकृतिलाई आफ्नो कलाको विषयका रुपमा लिएका छन् ।’ प्रधानले कला आम जनसमुदायसम्म पु¥याउने लक्ष्य लिएर स्थलगत चित्र रचना तथा प्रदर्शनी गरिएको जानकारी दिए ।
प्रदर्शनी सहभागी कलाकार झलक केसीले कलामार्फत आफूहरुले सम्पदा चिनाउने काम गरिरहेको सुनाए । लगातार दुई साता चाँगुनारायण मन्दिर परिसरमा बसेर सिर्जना गरिएका कला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राकेशचन्द्र श्रेष्ठ, दिवेश प्रधान, राजेन्द्र याकामी, झलक केसी, विक्रम प्रजापति, प्रकाश मानन्धर, रुविन बाडे, जुजुभाइ बसन श्रेष्ठ, राधेश्याम कर्माचार्य, सुर्यराम सुवाल, पुण्यराम मताङ, कान्छाकाजी भासिमा, विक्रम प्रजापति, हरिकृष्ण प्रजापति, तथागत चित्रकार, उज्जवल श्रेष्ठ, लक्ष्मीप्रसाद खोटेजा, विकास विसुंखे, राम विसुंखे लगायतका कलाकारले तयार पारेका चित्र राखिएको थियो ।
प्रतिक्रिया