मुगु । मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छन् । केही वर्ष पहिले चैत महिनापछि मात्र फूल्ने लालीगुराँस फूलहरू पछिल्ला केही वर्षहरूमा माघमा नै फूल्ने गरेका हुन् । गुराँस फूल्ने मौसम फागुन अन्तिमदेखि चैत– वैशाख महिना भएको भए पनि माघ पहिलो सातादेखि गुराँस वनभरी फूलेर ढकमक्क भएसँगै स्थानीय अचम्मित भएका छन् । पहिलाका वर्षहरूमा चैत–वैशाखमा फूल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमा नै फूलेका छायानाथ रारा नगरपालिका–१० का वडाध्यक्ष धर्मदत्त सावतले बताए । उनका अनुसार घर नजिकैका वनमा लालीगुराँस माघ पहिलो सातादेखि नै फूल्न थालेपछि स्थानीय आश्चर्यमा परेका वडाअध्यक्ष सावतले बताए ।
गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिनाअगावै पालुवा पलाउन थालेपछि स्थानीय छक्क पर्न थालेका छन् । चैतमा पूmल्ने स्याउ यो वर्ष पुसमा नै फूलेका र ससाना दानासमेत लागेका वडाध्यक्ष सावतले बताए । अरूका त के कुरा गर्नु यो वर्ष आफ्नै बगैँचाका केही स्याउका बोटमा पुसमा नै फूल फूलेका र यो बेला ससाना स्याउका दाना लागेका बताए । जलवायु परिर्वतनसँगै वसन्त ऋतु नै नआई प्राकृतिक परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् ।
के कति कारणले बेमौसममा फूल फूल्न थालेका हुन् स्याउका दाना लाग्न थालेका हुन् बुझ्न सकिएको छैन । केही वर्षयता यो परिवर्तन भइरहेको जानकारहरू बताउँछन् । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । प्रजातिअनुसार फरकफरक समयमा फूल्ने गुराँस समयानुसार एउटा सकिएपछि अर्कोगरी पनि फुल्ने गर्दछन् ।
गुराँस फूलको फाइदा पनि छ । गुराँस फूलको रस चुसेर मौरीले मह बनाउने गर्दछन् भने गाउँ घरमा माछाको काँडा अड्किएको बेलामा गुराँसका पात खाने र नभए सम्झना गरे त्यसबाट बच्ने विश्वास रहेको छ । घाँटी दुःखेको बेलामा पनि गुराँसको पूmल खाने गरिन्छ । पछिल्ला केही वर्ष यता गुराँसको जुस बनाएर रारा आउने पर्यटकलाई बेच्ने र खाने चलन रहेको छ ।
प्रतिक्रिया