बेनीस्थित ५० शय्या क्षमताको अस्पताल भवन अलपत्र

म्याग्दी । सदरमुकाम बेनीस्थित ५० शय्या क्षमताको सुविधा सम्पन्न भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै काम भएको छ । भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘५० शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छाँै’, कटुवालले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । १५ शय्या क्षमताको अस्पताल ०७२ मा ५० शय्यामा स्तरोन्नति भएको थियो । तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालु आवमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ । २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह छन् । ०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । ४ हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । हालसम्म दुई भवनको मात्र तेस्रो तला ढलान भएको छ भने एउटाको तेस्रो तला ढलानका लागि तयारी गरेर छोडिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपांगमैत्रीसमेत हुनेछ । पटकपटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख विदुर खड्काले पोखराको कार्यालयबाट हस्तान्तरण भएको फाइल अध्ययनसँगै ठेकेदारलाई काममा फर्किन ताकेता गरिएको उल्लेख गरे ।

प्रतिक्रिया