कालिकोट । कालिकोटमा लगाएको गहुँबाली खडेरीका कारण सुक्नै लागेका बेला हिमपात भएको छ । लामो समयपछि परेको वर्षासँगै हिमपातका कारण कालिकोटका कृषकहरू उत्साहित भएका छन् । हिँउले ढपक्क हुनुपर्ने हिँउदकै समयमा वर्षात र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरि कसरी गुजारा गर्ने भनेर कृषकहरू चिन्तित भएका थिए ।
अग्ला गाउँ बस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा वर्षात भएपछि जिल्लाभरिका कृषकहरू खुसी हुनुका साथै अन्नबालीका लागि सुबिकाल सुरु भएको बताए । जिल्लाभरि नै शुक्रबार बिहानदेखि सुरु भएको वर्षातसँगै भएको हिमपातका कारण आलु, गहुँ, जौँ लगायतका अन्नबालीहरू सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको खाँडाचक्र नगरपालिका–३ ताडीका स्थानीय कृषक सर्पराज पाण्डेले बताए ।
‘हिँउदमै परेको खडेरीले गर्दा खेतमा लागाइएको गहँु, जौँ, आलु, तरकारी सुक्न थालेकाले वर्षभरि कसरी जीविकोपार्जन गर्ने भनेर चिन्तामा थिएँ । भोकमारी पर्ने पो हो कि भन्ने डर उत्तिकै थियो, तर ढिलै भए पनि वर्षातसँगै हिमपात भयो’, कर्णाली जेसिज कालिकोट शाखा वर्ष २०२१ का अध्यक्ष लक्ष्मणकुमार शाहीले बताए ।
सुक्खा मौषमका कारण खडेरीले गर्दा हराभरा जंगल पनि सुकिसकेका थिए । पुसमाघमा पर्ने हिउँ हेर्न कालिकोटका डाँडाकाँडामा नागरिकहरू बर्सेनि धाउँथे । यसपालि भने नागरिकहरूले हिउँ हेर्न जाने सपना मारिसकेका थिए । अहले हिउँ परेसँगै कालिकोटका लेकतिर हिउँसँग खेल्न मानिसहरू जान थालेका छन् ।
कालिकाेट
प्रतिक्रिया