नयाँ उद्यमतर्फ युवाहरूको आकर्षण

स्याङ्जा । स्याङ्जामा नयाँ उद्यमतर्फ युवाहरूको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय कोरोना महामारीले रोजगारी गुमाएका युवाहरू आफनै व्यवसाय सञ्चालनप्रति आकर्षित हुन थालेका हुन् । यसैको गतिलो उदाहरण बनेका छन् वालिङ–१० का चार जना युवा । सोमबहादुर मल्ल (बिमल), अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठले सामुहिक एक करोडको लागानीमा फुटसल स्थापना गरेका हुन् । तल्लो वालिङमा सुविधा सम्पन्न कोर्ट स्थापना गर्दै वालिङ फुटसल सञ्चालनमा आएसँगै फुटबलका पारखीले बन्द कोठाभित्र फुटबलको मनोरञ्जन लिन सक्नेछन् ।

शुक्रबार फुटसलको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले खेलकुद क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी भएको बताए । उनले भने, ‘यो खर्च होइन लगानी हो । एउटा फुटसल निर्माणले हजारौँ नगरिकलाई स्वस्थ बनाउँछ । ५० शय्याको अस्पताल निर्माण गर्नुभन्दा हजारौँ मानिसलाई रोगबाट जोगाउन यो फुटसलले महत्वपूर्ण भूमिका खेल्छ ।’ वालिङमा फुटसल स्थापना भएसँगै फुटबल खेलमा नयाँ युवाहरूको आकर्षण बढ्ने एन्फा का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनले बताए । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

विदेश तथा स्वदेशका ठूला सहरहरूमा फुटसल नौलो व्यवसाय नभए पनि स्याङ्जामा भने नौलो हो । यसअघि जिल्लाकै पहिलो फुटसल वालिङ स्पोर्टस सेन्टरले वालिङ–८ मा स्थापना गरेको थियो । पाँच वर्ष कोरिया बसेर नेपाल फर्केका गणेश सुवेदीले करिव एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएका थिए । दैनिक आठ÷नौ खेल खेलाउन सकिने बताउँदै सुवेदी भन्छन्, ‘विदेशको कमाइभन्दा स्वदेशकै परिश्रममा आनन्द आउँदो रहेछ ।’ प्रति घण्टाको एक हजारमा एक समूहले खेल खेल्नसक्ने वालिङ स्पोर्टस सेन्टरका सञ्चालक गणेश सुवेदीले बताए ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया