सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा एक दर्जन बढी भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाले दुई वटा वडा कार्यालयका भवनसहित गाउँपालिकाभित्र भवन निर्माणको कार्य अगाडी बढाएको हो । गाउँपालिकाले सात वटा विद्यालय भवन, दुई वटा वडा कार्यालय भवन र तीन वटा गाउँघर क्लिनिक भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले वडा–५ रिममा आयुर्वेदिक औषधालयको भवनसमेत निर्माण प्रक्रिया अगाडि बढाएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए ।
गाउँपालिकाले प्रदेश सरकारको समन्वयमा ४० लाख रुपैयाँको लागतमा आयुर्वेद औषधालय भवन निर्माण गर्न लागेको अध्यक्ष सेनले जानकारी दिए । ‘गाउँपालिकाभित्र विकासका पूर्वाधार निर्माणलाई जोड दिएको छ यसका लागि गाउँपालिकाले भवन निर्माण कार्यलाई प्राथमकितामा राखेर कार्य अगाडि बढाएको छ’, अध्यक्ष सेनले भने । गाउँपालिकाले वडा–१ र वडा–६ मा ६०÷६० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण कार्य सुरु गरेको छ । यस्तै गाउँपालिकाले सरस्वती माविको चार कोठे भवन, सिद्ध बाबा बाल विकास केन्द्रको दुई कोठे भवन निर्माण कार्य अगाडि बढेको अध्यक्ष सेनले जानकारी दिए । ‘गाउँपालिकाले विद्यालय भवन अभाव भएका तथा जीर्ण भवन भएका विद्यालयहरूमा भवन निर्माण कार्यलाई अगाडि बढाएको छ, यसले गाउँपालिका भित्रको शिक्षाको गुणस्तर सुधार गर्न मद्दत पु¥याउनेछ’, सेनले भने ।
गाउँपालिकाले दुई वटा वडामा गाउँघर क्लिनिक सञ्चालनका लागि पनि भवन निर्माण गर्ने भएको छ । भवन अभावका कारण स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएका वडा–३ र वडा–६ मा भवन निर्माण गर्न लागिएको छ । विकासको उदाहरणीय नमुना प्रस्तुत गर्ने हिसाबले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै काम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसँगको साझेदारी र समन्वयमा सुरक्षित भौतिक पूर्वाधार निर्माणमा कार्यलाई तीव्रता दिइएको छ ।
गाउँपालिकाले कपुरकोट क्षेत्रलाई बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रको रूपमा विकास गर्नका लागिसमेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । कपुरकोट गाउँपालिकाबाट करोडाैँ मूल्य बराबरको बेमौसमी निर्यात भइरहेकोले यसलाई अझै विस्तार गर्नका लागि तरकारी पकेट कार्यक्रम लागू गरी सञ्चालन गरिएको छ । यस्तै गाउँपालिकाले अन्य भौतिक पूर्वाधार निर्माणका कार्यहरूलाई समेत तीव्रता दिएको छ । लिफ्ट प्रणाली खानेपानी, विद्युतीकरण, सडक निर्माण र स्तरोन्नति, स्वास्थ्य क्षेत्रको स्तरवृद्धि, दुग्ध विकासलाई पनि अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया