कालिकोटमा हिमपात हुँदा नागरिक हर्षित

कालिकोट । कालिकोटमा लगाएको गहुँबाली खडेरीका कारण सुक्नै लागेका बेला हिमपात भएको छ । लामो समयपछि परेको वर्षासँगै हिमपातका कारण कालिकोटका कृषकहरु उत्साहित भएका छन् ।

हिँउले ढपक्क हुनुपर्ने हिँउदकै समयमा वर्षात र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुख्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषकहरु चिन्तित भएका थिए । अग्ला गाउँ बस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा वर्षात भएपछि जिल्लाभरीका कृषकहरु खुशी हुनुका साथै अन्नबालीका लागि सुविधा सुरु भएको बताए ।

जिल्लाभरी नै शुक्रबार विहानदेखि सुरु भएको वर्षातसँगै भएको हिमपातका कारण आलु, गहुँ,जौलगाएतका अन्नबालिहरुको सप्रिनुका साथै उत्पादनमा समेत बृद्धि हुने आशा गरिएको खाँडाचक्र नगरपालिका– ३ ताडिका स्थानीय कृषक सर्पराज पाण्डेले बताए ।

‘हिउँदमै परेको खडेरीले गर्दा खेतमा लागाईएको गहुँ, जौ, आलु, तरकारी सुक्न थालेकाले वर्षभरी कसरी जिविकोपार्जन गर्ने भनेर चिन्तामा थिएँ, भोकमरी पर्ने होकी भन्ने डर उत्तिकै थियो, तर ढिलै भएपनि वर्षातसँगै हिमपात भयो’, कर्णाली जेसिज कालिकोट शाखा वर्ष २०२१ का अध्यक्ष लक्ष्मण कुमार शाहीले भने ।

हिमपातसँगै आन्तरिक पर्यटक हिउँ हेर्न अग्ला डाँडामा

शुख्खा मौसमका कारण खडेरीले गर्दा हराबरा जंगल पनि सुकिसकेका थिए । पुस–माघमा पर्ने हिउँ हेर्न कालिकोटका डाँडाकाँडामा नागरिकहरु बर्सेनि धाउँथे । यसपालि भने नागरिकहरुले हिउँ हेर्न जाने आशा मारिसकेका थिए ।

मकवानपुर जिल्ला हेटौँडा निवासी निकेश कठायत हिउँ हेर्न कालिकोटका लेखतिर पुगेका छन् । जन्मथलो मकवानपुर भएपनि कर्मथलो कालिकोट बनाएका कठायतसँगै पाँच जना हिउँ हेर्न लेकतिर गए ।

युवा कलाकार तथा समासेवी दिनेश संन्याजलसहित अन्य टोलिहरु हिउँ हेरेर आएपछि कालिकोटका नागरिकहरुको खेतिबाली सुदृढ हुने बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया