सहिदहरुको सम्झनामा यादगारी दिवस

सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा बुधबार पन्ध्रौं मधेस सहिद दिवस (यादगारी दिवस) मनाइएको छ । पहिचान, स्वाभिमान, अधिकार तथा सम्मान प्राप्तिका लागि २०६३/७२ को मधेश आन्दोलनका क्रममा सर्लाही जिल्लामा ज्यान गुमाएका सहिदहरुको सम्झनामा जनता समाजवादी पार्टी नेपालले यादगारी दिवस मनाएको हो ।

२०६३ साल माघ २१ गतेको मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेका राम एकवाल राय, आसिक अली मिकरानी, दिनेश राय, सञ्जय राय, रामनारायण साह र २०७२ साल मंसिर १७ गतेको मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकी राधिका देवि कठबनिया र नागेन्द्र ठाकुर लगायतका सहिदहरुको सम्झनामा जसपाले यादगारी दिवस मनाएको हो ।

यादगारी दिवसको अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्ला विकास चोकमा रहेको सहिदहरुको स्मारकमा फूलमाला तथा अबिर अर्पण गरि यादगारी दिवस मनाएका हुन् । सहिद परिवार आयोजक समितिद्वारा आयोजना गरिएको यादगारी दिवस कार्यक्रमका प्रमुख अतिथि एवं जसपाका शिर्ष नेता  महेन्द्र राय यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, सहिद परिवार प्रती पार्टी गम्भीर रहेको बताए ।

सहिद परिवारको सुखदुःखमा पनि पार्टी साथमा रहदै आएको बताउदै नेता यादवले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, मधेस र मधेसीको पहिचान र अधिकार प्राप्तिको लडाइमा सहादत भएका वीर सहिदहरु प्रती आफुले उच्च सम्मान अर्पण गर्न चाहन्छु ।’ संविधान खारेज भएको खण्डमा वीर सहिदहरुको बलिदानी खेर जाने बताउदै उनले संविधानको रक्षाको लागि अब जनस्तरबाट खबरदारी गर्ने बेला आएको उनले उद्घोष गरे ।

सहिद परिवारलाई पार्टीले यसअघि निर्णय गरेको ५० लाख रुपैयाँँ प्रदेश सरकारले सहयोग गर्नुका साटो एकएक वटा भैंसी दिएर सहिद परिवारको आर्थिक अवस्था मजबुत नहुने समेत नेता यादवले बताए । मधेशलाई अधिकार सम्पन्न बनाउनका लागी आफ्नो पार्टीको लडाइ जारी रहेको उनले बताए ।

सहिद नागेन्द्र ठाकुरको श्रीमती शकुन्तला देवि ठाकुरको अध्यक्षतामा गरिएको यादगारी दिवस कार्यक्रममा प्रदेश २ का सहिद परिवार, जसपाका जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेता एवं कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो । भने कार्यक्रमको उद्घोषण जसपाका जिल्ला सचीव जबाहर राय यादवले गरेका थिए ।

प्रतिक्रिया