पल्पसा बन्दै स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित रहेर मञ्चन हुने नाटक ‘पल्पसा’ मा काम गर्ने भएकी छन् । लेखक तथा पत्रकार नारायण वाग्लेद्वारा लिखित उक्त उपन्यासमा केन्द्रित रही मञ्चन हुने उक्त नाटकमा उनको शीर्ष भूमिका हुने जनाइएको छ ।  मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री स्वस्तिमाले ‘पल्पसा क्याफे’ मा आधारित रहेर मञ्चन हुन लागेको नाटकमा काम गर्नका लागि अफर आउँदा आफू उत्साहित भएको सुनाइन् । उनले भनिन्, ‘म चलचित्र क्षेत्रमा आएपछि मलाई थिएटर छ, जहाँ नाटक देखाइन्छ भन्ने केही पनि थाहा थिएन । पहिलो चलचित्रको मेकर्सले नै मलाई नाटक घरसम्म लैजानुभएको थियो । बल्ल मैले नाटकको दुनियाँ थाहा पाएको थिएँ । मलाई सो समयदेखि नै नाटकमा कसरी अभिनय गर्ने होला भन्ने लागेको थियो ?’
उनले नाटकमा अभिनय गर्ने कुराले उत्साहित भएको सुनाउँदै भनिन्, ‘पल्पसा क्याफेको नाम सुनेपछि उत्साह अझै बढ्यो ।’ उनले नाटकमा काम गर्ने भएपछि आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । नाटकमा काम गर्ने नयाँ अनुभव भएको जनाउँदै अभिनेत्री स्वस्तिमाले आफू यसमा रमाइरहेको जिकिर गरिन् ।  उक्त नाटकको निर्देशन विमल सुवेदीले गर्दैछन् । लेखक वाग्लेले निर्देशक सुवेदीको प्रस्ताव सुनेपछि आफू उत्साहित भएको र नाटकका लागि पुस्तकको अधिकार दिएको बताए । उनले नाटकलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्पूर्ण अधिकार निर्देशकमा रहेकाले आफूले कुनै पनि खालको हस्तक्षेप नगरेको सुनाए ।
उपन्यासलाई सुरज सुवेदीले नाटकमा रुपान्तरण गरेका हुन् । चैत वा वैशाखमा मञ्चन गर्ने तयारीमा आफूहरु जुटिरहेको निर्देशक सुवेदीले जानकारी दिए । उनले १५ वर्षअघि लेखिएको पुस्तकले भन्न खोजेको विषय अहिले पनि उत्तिकै सान्दर्भिक रहेको सुनाए । उनले भने, ‘उपन्यासको सन्दर्भ अहिले पनि ताजै रहेकाले यो कथा कहिल्यै पुरानो हुन्छ भन्ने मलाई लाग्दैन । नाटकले द्वन्द्वका घाउहरुसँगै प्रेमको कथा भन्छ ।’ नाटकमा स्वस्तिमा खड्का, जेनी सुनुवार, दिपेश राई, समापिका गौतम, साजनकुमार सुनुवार, बच्चु हिमान्सु, रामकृष्ण परियार, रोशन निरौला, कपिल राई, निमा शेर्पा, पूर्णिमा आचार्य, सुश्मा राई  लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

प्रतिक्रिया