आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति

सुनसरी । जिल्लाको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–५ वसन्तपुरको बंगाली टोलमा शुक्रबार राती भएको आगलागीबाट नौ परिवारको १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट डेढ करोडभन्दा बढीको क्षति भएको छ । आगलागीपछि शनिबार बिहान अग्निपीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले राहत उपलब्ध गराएको छ । वसन्तपुरमा आगलागी भएको खबरपछि पालिका अध्यक्ष अन्सारी राती नै सो स्थानमा पुगेर आगो नियन्त्रण गर्न पुगेका थिए ।

अग्निपीडितलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजार रुपियाँको दरले उपलब्ध गराएको छ । उनीहरूलाई जनही चामल २५ केजी, च्युरा पाँच केजी, खाने तेल, नुन एक केजी, भाडावर्तन १५ थान, कम्बल दुई थान, झुल एक थान, मेट दुई थान र भुजा एक पाकेट लगायतको सामग्री उपलब्ध गराएको छ । यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरूलाई राहत उपलब्ध गराएको छ ।

उनीहरूलाई जनही भाँडावर्तन, त्रिपाल एक थान, कम्बल दुई थान, पुरुष, महिला र बच्चालाई कपडा सेट, भुजा एक पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्णप्रसाद देवले जानकारी दिए ।  इनरुवा नगरपालिका र कोसी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया