कोहलपुर अस्पतालको कोभिड वार्ड बन्द

नेपालगञ्ज । कोरोना भाइरसबाट संक्रमित भई गम्भीर अवस्थामा रहेका बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा रहेको कोभिड वार्डलाई बन्द गरिएको छ । हाल सो अस्पतालको कोभिड वार्डमा एक जना पनि संक्रमित बिरामी भर्ना नरहेकोले हाललाई कोहलपुर अस्पतालको सो कोभिड वार्डलाई बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताए ।

पछिल्लो समयमा आएर बाँकेमा कोरोनाबाट संक्रमितहरू घट्दै गएको र बाहिरी जिल्लाबाट आउने संक्रमित बिरामीको संख्यामा पनि निकै कमी आएकोले मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले मेडिकल कलेजको कोहलपुर अस्पतालमा रहेको कोभिड वार्डलाई हालका लागि बन्द गर्ने निर्णय गरेको संयोजक कुरुम्वांगले बताए । उनले हालका लागि नेपालगञ्जस्थित भेरी अस्पताल नै पर्याप्त रहेकोले मंगलबारदेखि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रहेको कोभिड वार्डलाई बन्द गरेर भेरीमा मात्रै संक्रमित भर्ना गर्न सुरु गरिएको बताए ।

कोरोनाको जोखिम अत्यधिक रहेको बेला मेडिकल कलेजको कोहलपुर अस्पताल र नेपालगञ्जस्थित भेरी अस्पतालमा संक्रमितहरू भरिभराउ हुने गरेका थिए । तर, अहिले कोहलपुरमा एक जना पनि संक्रमित बिरामी नरहेको र भेरी अस्पतालमा पनि ३० जना मात्रै संक्रमितको उपचार भइरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले करिब डेढ सय शय्या क्षमताको भेरी विशेष कोभिड अस्पताल हालका लागि प्रर्याप्त रहेकोले आवश्यक परेमा पुनः सञ्चालन गर्ने गरी मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको कोभिड वार्ड बन्द गरिएको बताए । कोहलपुर शिक्षण अस्पतालको कोभिड वार्डमा मात्रै हालसम्म करिब सात सय संक्रमितको उपचार गरिएको सो अस्पतालले जनाएको छ । ती मध्ये अधिकांश संक्रमित भएर गम्भीर अवस्थामा पुगेकाहरू मात्र रहेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए । उनले कोहलपुरमा निकै जटिल अवस्थाका संक्रमितहरूको शल्यक्रिया गरिएको जनाउँदै अस्पतालमा बाहिरी जिल्लाका गम्भीर संक्रमितहरू धेरै बढी आएको बताए ।

प्रतिक्रिया