काठमाडौं । छिमेकी मुलुक भारतमा तिव्रगतिमा बर्डफ्लू संक्रमण फैलिएपछि नेपालमा पनि त्रास बढेको छ । नेपालमा बर्डफ्लू भित्रिन नदिनका लागि भारतबाट आयात हुने पोल्ट्रीजन्य वस्तु अर्थात (कुखुरा) को आयातमा नेपालले तत्काल प्रतिबन्ध नलगाए पनि मातहतका निकायलाई उच्च सर्तक रहन निर्देशन दिएको छ । क्वारेन्टाइन अधिकृतले नै प्रतिबन्ध लगाउन सक्ने व्यवस्था कानुनमा भएकोले भारतको आधिकारिक निकायले पुष्टि हुने वित्तिकै प्रतिबन्ध गरिने बताइएको छ ।
भारतबाट पोल्ट्रीजन्य वस्तु आयात हुँदा नेपालमा पनि बर्डफ्लूको प्रकोप फैलिन सक्ने भएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको पशु सेवा विभागलाई भारतको जुनसुकै क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भन्दै मन्त्रालयबाट पत्र आएको विभागले जनाएको छ ।
विभागका अनुसार अहिले विभागमा आयात प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको छ । छलफलमा भारतका सबै क्षेत्रबाट आयात हुने पोल्ट्रीजन्य वस्तुको आयात तत्काल प्रतिबन्ध लगाउने विषय रहेको छ । विभागले नेपाल–भारत सीमाका क्वारेन्टाइन चेक पोष्टलाई समेत पत्राचार गरेको छ ।
एक साता अघिदेखि भारतका विभिन्न राज्यमा केरला, गुजरात, हरियाणा, राजस्थान, विहार लगायतका एक दर्जन भन्दा बढी क्षेत्रमा बर्डफ्लू देखिएको छ । यी क्षेत्रमा कुखुरा, हाँस लगायत पशुपन्छीमा समेत बर्डफ्लू देखा परेकाले लाखौं कुखुरा, हाँस नष्ट गर्न थालिएको छ । यसरी बर्डफ्लूको प्रकोप देखा परेपछि अण्डा बिक्री वितरणमा पनि रोक लगाइएको छ ।
प्रतिक्रिया