दमौलीमा अक्षरयात्रा

तनहुँ । नेपाली साहित्यलाई स्थानीय स्तरसम्म लैजाने लक्ष्यका साथ नियमित रुपमा गरिँदै आएको साहित्यिक कार्यक्रम दमौलीमा सम्पन्न भएको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित कार्यक्रम अक्षरयात्राको १७८औँ शृंखलामा शनिबार करिब दुई दर्जन कविले रचना वाचन गरे । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम दमौलीमा गरिएको हो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले साहित्य समाजलाई सही बाटोमा हिँडाउन मार्गनिर्देश गर्ने बलियो माध्यम भएको जिकिर गरे । उनले भने, ‘समाज र राष्ट्रमा व्याप्त कुसंस्कार, अनियमितता र विसंगतिलाई कलमका माध्यमबाट झक्झकाएर शासक र नीति निर्मातालाई दबाब सिर्जना गर्ने काम साहित्यकारले गर्दै आएको छ ।’

व्यासका अध्येता काशीनाथ न्यौपानेले भगवान् वेदव्यासको जन्मभूमि दमौली आफैँमा साहित्यका हिसाबले उर्वरभूमि भएको बताए । अक्षरयात्रा कार्यक्रमका परिकल्पनाकार प्रकट पंगेनी शिवले साहित्यिक अभियानका रूपमा साहित्यिक पर्यटनको अवधारणाबाट अक्षरयात्रा कार्यक्रम सुरु गरिएको बताए । उनले साहित्यले स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पु¥याउने भएकाले यसको भूमिका साहित्यसँग मात्र नभइ समाजका अन्य विषयसँग पनि जोडिएको विचार व्यक्त गरे ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष सागर उदासले अक्षरयात्रा कार्यक्रम दमौलीमा आयोजना भएकोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गजल सन्ध्यासँग सहकार्य गरी साहित्यिक गतिविधि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा साहित्यकार सञ्जीव पौडेल, कपिल शर्मा, मोहन क्षेत्री, प्रदीप रोदन, सुदेश सत्याल, आवाज शर्मा, उषाकिरण तिवारी, शिव त्रिपाठी, नारायणी अधिकारी, गौकुमारी न्यौपाने, मन क्षेत्री, प्रमोद थापा, माधव खतिवडा, मैया सुवेदी, दिवाकर भट्टराई, लालमणि पोखरेल, अनिता दाहाल, प्रेम गिरी विशाल, अमृत क्षेत्री, विनोद श्रेष्ठ लगायतले रचना वाचन गरेका थिए ।

प्रतिक्रिया