कर्णाली उत्सवको दोश्रो संस्करण फागुनमा हुने

सुर्खेत । कर्णाली उत्सवको दोश्रो संस्करण आगामी फागुनमा हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनको अगुवाइमा कुडा कर्णालीका भन्ने मुल नाराका साथ विभिन्न व्यक्तिहरु, सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा कर्णाली उत्सव संचालन हुने भएको हो । उत्सव २०७६ सालदेखि सुर्खेतमा संचालन हुँदै आएको थियो ।

आयोजक ऋति फाउण्डेशनले आइतवार पत्रकार सम्मेलन गर्दै उत्सवको दोस्रो संस्करण आउँदो फागुन २७, २८ र २९ गते तीन दिनसम्मस संचालन हुने जनाएको छ । कार्यक्रम प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा हुने बताइएको छ ।

‘कर्णाली उत्सवः कुडा कर्णालीका को गत वर्ष २०७६ फागुनमा आयोजित पहिलो अध्यायले हामीमा एक प्रकारको उर्जा थपिदियो– कर्णालीको समृध्दिका खातिर सार्थक बहसको नियमित श्रृंखला गर्न, मुख्यगरी भाषा, साहित्य, संस्कृति र कलाका बहसहरु मात्र यस्ता उत्सवहरुको मुख्य आकर्षण हुँदै आएको परम्परा भन्दा केही भिन्न रुपमा १४ वटा विभिन्न सत्रहरुमा हामीले सम्मृद्धिको सपनाबारे बहस गर्यौं, संघीयताको मर्मबारे बहस गर्यौां ।’

आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले भने, ‘कर्णालीको सिंजा उपत्यकामा उत्पति र विकास भई आज नेपाली भाषीहरु जहाँजहाँ पुगेका छन् उनीहरुलाई जोड्ने साझा खस नेपाली भाषाका आयामबारे मन्थन गर्यौं ।’

उनले अघिल्लो संस्करणमा केन्द्रीकृत सत्ताबाट उपेक्षित, दुर्गम र अविकासको मानक बनेको कर्णालीका संस्कार र समानता खोतल्ने प्रयास गरेको बताउँदै शासकसामू उभिन नसक्ने नागरिकलाई प्रश्न किन गर्ने भनेर जवाफदेहिताको लागि खबरदारी गर्न उत्प्रेरणा दिने बहस पनि समेट्ने कोशिष गरेको बताए ।

कर्णालीलाई चिन्ने, बुझ्न चाहने र माया गर्नेहरुको साझा प्रयासले मात्रै कर्णाली उत्सवको निरन्तरता संभव भएको उनको ठम्म्याई छ । ‘कर्णाली उत्सव हरेक वर्ष आयोजना गरिने विचारको कुम्भ मेला हो । उत्सव आफैंमा एउटा उत्साहजनक अवस्था पनि हो । कर्णाली उत्सवमा कर्णालीको पहिचान र संभावना केलाइन्छ ।

अध्ययन तथा अनुसन्धानका लागि विषय पहिल्याइन्छ । नीति निर्माताका लागि खुराक तयार गरिन्छ । समस्याको समाधान खोजिन्छ । अनि सरकारहरुलाई जनताप्रति जवाफदेही बनाउने प्रयास गरिन्छ । कर्णाली उत्सवमा कर्णालीका मात्र कुरा हुँदैनन् । बरु कर्णालीमै बसेर राष्ट्रिय–अन्तर्राष्ट्रिय छलफल गर्न संभव छ भन्ने सिद्ध हुन्छ ।’ लम्सालले भने, ‘ देश विदेशमा प्रख्यात व्यक्ति र स्थानीयले एउटै मञ्चमा विचार आदान प्रदान गर्छन् ।

एक अर्कालाई महसुस गर्छन् । विज्ञ तथा ख्यातीप्राप्त व्यक्तिहरुको उत्सवमा हुने उपस्थितिले एकातिर उनीहरुमा कर्णालीप्रतिको आकर्षण बढाउँछ भने अर्कोतिर कर्णालीका रैथानेले आफ्ना कुरा सुनाउने–बुझाउने मौका पाउँछन् । अतः कर्णाली उत्सव कर्णालीका कुरा गर्ने एक अवसर हो ।’

उत्सवमा देशदेशावरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिको अतिथि वक्ताको रुपमा उपस्थिति रहने आयोजक समितिका सदस्य दिनेश गौतमले बताए । विश्वव्यापी कोरोना महामारीबाट नेपाल पनि प्रभावित भएको स्थितिलाई मध्यनजर गर्दै भौतिक दुरीको पालनासहित सकेसम्म धेरै दर्शकको प्रत्यक्ष सहभागिता गराउने साथै कथंकदाचित कोरोना महामारीको संक्रमण अझै उच्च हुँदै गएमा अभौतिक रुपमै भएपनि उत्सवलाई निरन्तरता दिने आयोजक समितिका सदस्य गौतमले बताए ।

प्रतिक्रिया