अलपत्र बनेको ज्वाला माध्यामिक विद्यालय बेस्तडाको भवन । तस्बीर : कृष्णप्रसाद अधिकारी
दैलेख । ६ कोठे विद्यालयको डिपीसी र पिलरको डण्डि (सरिया) ठड्याउनमै सकियो १५ लाख, ३५ लाख फ्रिज भएको छ । आर्थीक बर्ष २०७६/०७७ मा बेस्तडास्थित ज्वाला मावीको भवन निर्माणका लागि कर्णाली प्रदेश सरकार मार्फत ५० लाख रुपैयाँ बिनियोजन भयो । भगवतीमाई गाउँपालिका–१ स्थित उक्त विद्यालयमा ६ कोठे भवन निर्माण गर्न बजेट छुट्याईएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले सामाजिक विकास कार्यालयसँग सम्झौता ग¥यो । सम्झौता अनुसार सामाजिक विकास कार्यालयले विद्यालयलाई ३० प्रतिशत रकम पेश्की दियो । विद्यालयले १५ लाख रुपैयाँ पेश्की लिएको थियो । तर, हालसम्म न त काम पूरा भएको छ, न त पेश्की रकम नै फस्र्यौट भएको छ । अहिले भवन निर्माणको काम समेत अलपत्र बनेको छ ।
भवन निर्माणका लागि सम्झौता अनुसार सम्झौता ३० प्रतिशत रकम पेश्की दिएको सामाजिक विकास कार्यालयका प्रमुख झलकप्रसाद कोइरालाले बताए । ‘विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिले निर्माण गर्नुपर्ने थियो, हामीले विद्यालयको नाममा १५ लाख रुपैयाँ पेश्की दिएका हौ,’ कोइरालाले भने ‘हालसम्म भवनको डिपीसी र पिलरका लागि सरिया ठड्याउने काम भएको छ ।’ विद्यालयले कोरोना र लकडाउनको कारण देखाउँदै काम गर्न नसेपछि ३५ लाख रुपैयाँ फ्रिज भएको कोइरालाले बताए । अघिल्लो आर्थिक बर्षमा फ्रिज भएको बजेट प्रदेश सरकारसँग पुःन माग गरेर पठाएका छौ,’ प्रमुख कोइरालाले भने ‘बजेट आउने बित्तिकै बाँकी काम सुरु हुन्छ ।’
स्थानीयले भने खर्च हुन नसकेको ३५ लाख रुपैयाँ फिर्ता भएपनि १५ लाख बराबरको काम नभएको बताउँछन् । विद्यालयले भवन निर्माणको जिम्मा ठेकेदार जनकप्रसाद शर्मालाई जिम्मा दिएको प्रधानाध्यापक देवेन्द्र अधिकारीले बताए । ‘विद्यालय व्यवस्थापन समितिको बैठकले निणर्य गरेर व्यवस्थापन समितिले रेखदेख गर्नेगरी तिनपुस्ते कागज गरेर निर्माणको जिम्मा दिएका थियौँ,’ उनले भने ‘कोरोना र लकडाउनका कारण भवन निर्माण हुन सकेन् ।’ विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेपछि काम गर्न नसकेको प्रधानाध्यापक अधिकारीको भनाई छ ।
विद्यालयको नाममा आएको पेश्की रकम समेत कामको जिम्मा दिईएको ठेकेदारले भुक्तानी लिईसकेको उनले बताए । भवन निर्माणको लागि आएको बजेट फ्रिज भएपछि पुःन बजेट ल्याउन प्रदेश सरकार, मन्त्रालय र सांसदलाई निरन्तर घचघच्याईरहेको प्रधानाध्यापक अधिकारीले बताए । ‘भवनको डिपीसी र पिलरका लागि सरिया ठड्याउने काम सकिएको छ, ठेकेदारले अब पिलरको काम पनि सक्छु भन्नुभएको छ,’ प्रधानाध्यापक अधिकारीले भने ‘थप बजेट आउने बित्तिकै भवन निर्माणको बाँकी काम सुरु हुन्छ ।’
दैलेख
प्रतिक्रिया