कालिकोटमा दोस्रो अन्तराष्ट्रिय महिनावारी दिवस मनाईयो

कालिकोट । ‘महिनावारी कुरा, मर्यादा केन्द्रित भएका मात्र हुन्छन् पुरा’ भन्ने मुल नारासहित कालिकोटमा दोस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको छ ।

लैगिंक हिंसा सम्बन्धिको एक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले पहिलेको तुलनामा अहिले छाउगोठमा बस्ने महिलाहरु कमै मात्रामा भएको बताएका छन् । परम्परागत रुपमा मानिने छुवाछुत प्रर्थालाई अन्त्य गर्न जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्था लागिपरेका छन् ।

छाउपर्था मान्नुहुन्न भन्ने सोच लिएर हिँडेका नागरिकहरुले पहिलेको तुलनामा अहिले ५ प्रतिशत मात्र महिलाहरु महिनावारीको समय गोठमा बस्ने गरेको बताएका छन् ।

महिला बालवालिकाको क्षेत्रमा कार्य गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) कालिकोटकी प्रमुख संगिता वलीले गाउँघरमा जाँदा महिलाहरु महिनावारीको समय छाउगोठमा बस्नेहरुको संख्यामा कमि आएको बताइन् ।

परिवर्तन आफैबाट सुरु गर्नुपर्ने उनले बताइन् । वलीका अनुसार लैगिंक हिंसाविरुद्धको अभियान चलिरहेको बेला छाउपर्था पनि एक कुरीती कु–संस्कारको रुपमा रहेकाले गाउँ समाजमा रहेका नारीहरुलाई महिनावारीको विषयमा विशेष तालिम दिएर छाउगोठको अन्त्य गर्नतिर लाग्नुपर्ने उनले बताइन् ।

यस्तै किर्डाक नेपाल कालिकोटका अमरराज सार्कीले महिनावारी हुँदा के गर्ने के नगर्ने जस्ता विषयमाथि प्रष्ट पारे । सार्कीका अनुसार ४७ प्रतिशत महिलाहरु महिनावारी भएका बेला भान्सामा जाने गर्दछन् भने ५३ प्रतिशत महिलाहरु यो समयमा भान्सामा जाँदैनन् ।

अघिल्लो वर्षभन्दा यो वर्षमा छाउगोठमा बस्ने महिनावारीको संख्यामा ५ प्रतिशतले कमि देखिएको छ । प्लान इन्टरनेशनल नेपाल, राधा पौडेल फाउन्डेशन, सेभ द चिल्ड्र्रेन, सोसेक नेपाल र मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल र किर्डाक नेपाल कालिकोटको आयोजनामा संयुक्त रुपमा दोस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस कालिकोटमा मनाइएको हो ।

खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी सबैले समाज रुपमान्तरण गर्न तथा गाउँ समाजमा हुने कुरीती कु–संस्कार र विभिन्न किसीमका हिंसाहरु अन्त्यको लागि आफू र आफ्नो परिवारबाट सुरु गर्नुपर्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया