दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा यतिवेला विकासले चम्किँदै गरेको छ । दैलेख सदरमुकामबाट पूर्वमा पर्ने गाउँपालिकाले विकासमा गति लिएसँगै चम्किँदै गरेको हो । यस गाउँपालिकाको अवस्था केही वर्षअघिसम्म यहाँका अधिकांश नागरिकको रोजिरोटी भारतमा निर्भर हुने गरेको थियो, यस गाउँपालिकाका नागरिकहरू गाउँपालिकाको विकाससँगै गाउँमै रोजगारीको अवसरहरू आउन थालेकोले अब रोजिरोटीकै लागि विदेश तथा तेस्रो मुलकमा जानुपर्ने अवस्थाको जटिल परिस्थिति केही कम हुने आशामा रहेका छन् । गाउँपालिकालगायत जिल्लामा विकासको गति सुस्त भएको कारण नागरिक निराश भएको अवस्थामा भगवतीमाई गाउँपालिकाको केन्द्र भएर जाने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुलेको छ ।
पहिले सुनसान हुने गाउँमा विकासको आशा पलाएको छ । विकासले उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ । लोकमार्गसँगै गाउँपालिका भित्रका सात वटै वडा कार्यालयहरू सडक सञ्जालले जोडिएका छन् । गाउँपालिकाका सबै वडामा सडक पुगेपछि नागरिकको दैनिकी फेरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।
‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ । व्यापार व्यवसाय पनि फस्टाउँदो छ’, भगवतीमाई गाउँपालिका दैलेखका नारायण अधिकारी भन्छन्, ‘अन्य ससाना बजार विस्तार हुने क्रम तीव्र छ । हामी गाउँका नागरिकलाई बजारसम्म जोड्दै दैलेख सदरमुकाम जाँदा पहिले हिँडेर एक दिन लाग्ने परिस्थितिको अन्त्य भएको छ । अहिले बिहान सदरमुकाम गएर काम गरी र साँझ घर फर्कन सकिन्छ । सानोतिनो काम गाउँपालिकाबाटै हुने गरेकोले गाउँपालिकामा काम गरेर घरको कामसमेत गर्न सहज भएको छ ।
लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ । दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आउने गरेका छन् । स्थानीय सरकार पनि यस क्षेत्रमा पुगेको छ । आवतजावतका लागि हिँड्नुपर्ने बाध्यताको अन्त्यसमेत भएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाकामा पर्ने लैनचौरको गाउँसमेत बजारमा परिणत सम्बन्धित स्थानीयले बताएका छन् । लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ । लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ । यो खण्डको स्तरोन्नतिअन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माणलगायत काम धमाधम भइरहेका छन् ।
रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनिष सिंह बताउँछन् । जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ । दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ १९ किमी मध्ये भगवतीमाई गाउँपालिकाभित्र १२ किमी कालोपत्रे भइसकेको र अन्य कालोपत्रेको काम भइरहेको जानकारी आएको छ यस गाउँपालिकाभित्र राजमार्गको जम्मा २६ दशमलव ५ किमी पर्दछ भने जसमा १२ किमी पिच भएको हो । चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंहले बताए । उनका अनुसार बाँकी खण्डको पनि स्तरोन्नतिको काम भइरहेको छ ।
अछाममा १ सय ७ किमिमध्ये १ सय २ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ । बाँकी पाँच किमि फागुनभित्र कालोपत्रे भइसक्ने आयोजनाको दाबी छ । यो खण्डमा नौ वटा पुल निर्माणाधीन छन् जसमध्ये दुई वटा पुल भगवतीमाई गाउँपालिकाभित्र पर्दछन् । पुल निर्माण, ग्राभेल, सडक कालोपत्रेलगायत कार्यका लागि २९ वटा ठेक्कामार्फत काम भइरहेको छ । ती ठेक्काअन्तर्गत ४२ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर सिंहको भनाइ छ । रुकुम पूर्वबाट अछामसम्मको खण्डमा ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।
दैलेख
प्रतिक्रिया