लकडाउनपछि विद्यालयहरु मसानघाट जस्तै

कालिकोट । प्रायः जसो विद्यालयहरुमा कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाईन निर्माण गरिए । निर्माण पश्चात् विद्यालयमा भएका भौतिक पूर्वाधारमा क्षति हुनुका साथै विद्यालयका सामाग्रीहरु पनि नष्ट भए । क्वारेन्टाइन पछि विद्यालयलाई स्थानीय सरकारले आइशोलेसनको रुपमा स्थापना गर्यो ।

क्वारेन्टाईन र आइशोलेसन बनाइएका विद्यालयहरुमा अहिले विद्यार्थिहरु पढ्न जान मान्दैनन् । गए पनि उचित सामाग्रीहरु छैनन् । कालिकोट जिल्लाका अधिकांश विद्यालयहरु अहिले महामारीका कारण सुनसान छन् । तर, कतिपय विद्यालयहरुमा पढाई सुरु गरिए पनि विद्यार्थिहरुलाई बस्नका लागि डेक्स, बेन्च छैनन् ।

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ का विद्यार्थिहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठा भित्र आवश्यक मात्रामा बेन्च, डेक्सको व्यवस्था नभएपछि विद्यार्थिहरु खुल्ला चौरमा बसेर पढ्न बाद्य भएका हुन् । सान्नीत्रिवेणी गाउँपालिका– १ सेरीज्युलामा रहेको शंकर माध्यमिक विद्यालयमा बाल कक्षादेखि ५ कक्षा सम्मका विद्यार्थिहरु खुल्ला चौरमा बसेर पढ्छन् ।

कोरोना भाइरसको संक्रमण हुनुभन्दा अगाडिबाट विद्यालयमा कार्पेटको व्यवस्था थियो । तर, लकडाउनपछि विद्यालय सञ्चालनमा आउँदा खुल्ला चौरको धुलोमा बसेर पढ्न बाध्य भएको शिक्षक खेमराज गिरीले बताए ।

उनका अनुसार पहिले कार्पेट बिच्छ्याएको भएपनि विद्यालयलाई आइशोलेसन बनाएपछि अहिलेसम्म पनि विद्यार्थिहरुले कार्पेट नपाएको गुनासो छ । विद्यार्थिहरुको पढाई सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भएपनि गाउँपालिकाले कुनै वास्ता नगरेको शिक्षक गीरीले बताए ।

गिरीका अनुसार बाल कक्षादेखि ५ कक्षासम्म विद्यार्थिका लागि तत्काल आवश्यक सामाग्रीसहित बेन्च र डेक्सको आवश्यकता नभए पनि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर, प्रयास सफल हुन नसकेको उनले बताए ।

भुइमा राखेर बालवालिकालाई पढाउनु पर्ने बाध्यता छ । विद्यालयलाई आइशोलेसन बनाएपछि विद्यालयमा भएका सामाग्रीहरु पनि हरायो । तर पनि गाउँपालिकाले अर्को व्यवस्था गरेको छैन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया