डुंगा दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो

रौतहट, १२ भदौ । ९ भदौमा वाग्मती नदीमा भएको डुंगा दुर्घटनामा परेर मर्नेको संख्या ६ पुगेको छ । गमहरिया घाटमा ९ भदौमा डुंगा पल्टिँदा हराइरहेकामध्ये एक बालकको शव सोमबार बिहान फेला परेको छ ।

सोमबार बिहान ब्रह्मपुरी घाटमा तीनवर्षीया बालिकाको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव रश्मी खातुन भएको प्रहरीले बताएको छ । उनकी आमा निसरथ खातुनको पनि डुंगा दुर्घटनामा मृत्यु भएको थियो । बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको हो ।
यसअघि दुर्घटनामा परी मृत्यु भएका पाँचको शव फेला परेको थियो । मृत्यु हुनेहरूमा गमहरिया पर्सा–६ लक्ष्मीपुरकी २० वर्षीया रजिया खातुन, २५ वर्षीया निसरथ खातुन, वडा नम्बर ७ की १३ वर्षीया अप्साना खातुन छन् । उनीहरूको शव ९ भदौमै फेला परेको थियो ।
यस्तै, आइतबार बिहान दुर्घटनास्थलबाट ५ किलोमिटर दक्षिण पकहाघाटमा १३ वर्षीया बालिका प्रतिमा पटेलको शव हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो भने साँझ सर्लाहीनजिकै डुमरियाघाटमा १४ वर्षीया मेहरून नेशाको शव फेला परेको थियो ।
दुर्घटनामा हराएकामध्ये ६ जनाको शव फेला परे पनि लक्ष्मीपुरका १० वर्षीया आशाकुमारी पटेल, मृतक नेसरथ खातुनको पाँचवर्षीय शवनम खातुन, एक वर्षीया हसरत अन्सारीलगायत अझै पाँच व्यक्तिको कुनै अत्तोपत्तो छैन । नदीको वेगले केहीलाई बगाएर भारत पनि लगेको हुन सक्ने स्थानीयको आशंका रहेको छ ।
दुर्घटनामा परी ज्यान गुमाएकामध्ये चार जनाको परिवारलाई तत्काल राहतस्वरूप १५ हजार रुपियाँका दरले राहत वितरण गरिएको छ । राहत रकम वितरण गर्दै सिडिओ शिवहरि उपाध्यायले नेपाल सरकारको तर्फबाट मृतकलाई अधिकतम ४० हजार रुपियाँ दिने प्रावधान रहे पनि रकम अभावका कारण पेस्कीस्वरूप १५ हजार रुपियाँ मात्र दिएको तथा २५ हजार रुपियाँ पछि वितरण गरिने बताए । साथै घाइते तथा हराइरहेकाको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । सर्लाहीको मानपुरघाटबाट ५० भन्दा बढी यात्रु बोकेर रौतहटको लक्ष्मीपुर घाट आउँदै गरेको डुंगा यात्रुको अत्यधिक भार थेग्न नसकेर ९ भदौमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया