गठबन्धनसँग कांग्रेस/एमालेले बार्ता नगर्ने

काठमाडौं, ९ भदौं । विपक्षी दल कांग्रेस र एमालेले सत्तारुढ दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’सँग बार्ता नगर्ने निर्णय गरेका छन् ।
लामो समय पछि आज काठमाडौंमा बसेको बैठकले १२ बुँदे सहमति विथोल्ने गरेर बनेको गठबन्धसँग बार्ता नगर्ने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । ‘१२ बुँदेका सहयात्रीलाई माईनस गर्ने गरेर एमाओवादीले गठबन्धन बनाएको छ,’ उनले भने, ‘एमाओवादीले सहयात्री दलहरुलाई संघीयता विरोधी देखाउन गठबन्धन बनाएको हो ।’
अन्य दलहरुसँग बार्ता गरिने बताएका पौडेलले सरकार र गठबन्धनसँग कुनैपनि प्रकारको बार्ता नहुने उल्लेख गरे । उनले सरकारलाई बहिष्कार गरेपनि विशेष समितिमा भने सहभागी हुने बताए ।
एमाले नेता भीम रावलले माओवादी लडाकुको रेखदेख समयोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको बैठकमा सहभागी हुने बताए । उनले भने, ‘पछिल्लो पटक बसेको विशेष समिति बैठकका निर्णय कार्यान्वनय भए नभएका बारेमा सरकारसँग धारणा माग गर्ने छौं ।’ सरकारले मनपरि रुपमा विशेष समितिबाट समायोजनका बारेमा निर्णय गर्ने गरेको बताएका उनले सोमबार बस्ने बैठकमा सबै विषयमा छलफल गरिने उल्लेख गरे । विशेष समितिको पछिल्लो बैठक बैशाख २ गते बसेको थियो ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया