दशैं खर्च जुटाउन सकस

काठमाडौ । चाडपर्व लक्षित खर्च व्यवस्थापन गर्न सरकारलाई सकस भएको छ । कोभिड– १९ को कारण विकास खर्च नभएपछि अपेक्षित राजश्व असुलीमा सरकार पछि परेको कारण दशै खर्च जुटाउन सकसको अवस्था सृजना भएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म सरकारले १ खर्ब ४७ अर्ब ८९ करोड राजश्व असुली गरेको छ । त्यस्तै विभिन्न कोष व्यवस्थापनबाट सरकारले यो अवधिमा १७ अर्ब असुली गरेको छ । यो सँगै कूल १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ ।

यो अवधिमा सरकारले १२ अर्ब विकास खर्च गरेको छ । त्यसोत राज्यले लगानी, ऋणको सवाँ तथा ब्याज भुक्तानीमा ३ अर्ब खर्च गरेको देखिन्छ । गत साउन र भदौमा गरी दुई महिने अवधिमा १ खर्ब ५१ अर्ब रुपैयाँ चालु खर्च भएको छ । यो अवधिमा कुल सरकारी खर्च १ खर्ब ६७ अर्ब रुपैयाँ भएको छ । नियमित आम्दानीबाट खर्चको जोहो हुन सक्ने अवस्था नदेखिएपछि दशैंअघि नै सरकारले घाटा पूर्तिका लागि आन्तरिक ऋण उठाइरहेको छ । सरकारले हालसम्म आन्तरिक क्रण ३० अर्ब रुपैया उठाएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिएका छन ।

घटस्थापनाको १५ दिन अघि नै दशै खर्च उपलब्ध गराउनुपर्ने भएकोले अन्य समयको तुलनामा मासिक खर्च यो समयमा धेरै हुन्छ । सामान्य समयमा सरकारको अनिवार्य दायित्व ४० अर्बको हाराहारीमा रहने गरेकोमा दशैंको समयमा कम्तिमा ६० प्रतिशत खर्च थपिने गरेको बिगतको कारोबारले देखाउछ । यतिखेर आफै तलब खुवाउने कार्यालयले भने दशै खर्च खुवाइसकेका छन । तर सरकारले रकम उपलब्ध गराउने कार्यालयमा कार्यरत कर्मचारीले अझै पनि दशै खर्च पाउन सकेका छैन ।

स्वास्थ क्षेत्रमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्य कर्मीले समेत दशै खर्च अझसम्म पनि पाउन सकेका छैन । जस्को कारण असोज मसान्तदेखि कात्तिक पहिलो साताभित्र सरकारलाई ५० अर्ब बढीको दायित्व थपिने आकलन गरिएको छ । सरकारसँग बजेटको सिलिङ भएसम्म नगदको समस्या खासै हुँदैन । सरकारले बजेट घाटा पुर्तिका विभिन्न माध्यम बजेटबाटै ब्यवस्था गरे पनि त्यस्को कार्यान्व्यन हुन सकेको देखिदैन ।

प्रतिक्रिया