घाटामा जान थाले निजी बैंक

ताप्लेजुङ, ३ भदौ । सधैँजसो नाफा कमाउने निजी क्षेत्रका बैंक घाटामा जान थालेका छन् । ताप्लेजुङमा पनि यस्तै भएको छ । करिब एक वर्षदेखि स्थापित निजी बैंक गत आवको असार मसान्तसम्म आइपुग्दा घाटामा गएका हुन् ।

पछिल्लो समय किसान तथा सेवाग्राहीको वर्गस्तरअनुसार सानो रकमको कर्जा प्रवाह र कृषि क्षेत्रमा समेत लगानी गर्ने उद्देश्यले स्थापना भएका बैंकका शाखाले लक्ष्यअनुसार निक्षेप संकलन गर्न नसक्नु र कर्जा प्रवाह नहुँदा ती बैंक घाटामा गएका हुन् ।
आव ०६८/६९ मा ग्लोबल आइएमई बैंकको ताप्लेजुङ शाखाले लक्ष्यबमोजिम कर्जा प्रवाह र निक्षेप संकलन नहुँदा १६ लाख रुपियाँ घाटा भएको शाखाले जनाएको छ । शाखा स्थापनाको प्रारम्भ भएकाले घरभाडा, प्रशासनिक खर्च र अन्य व्यवस्थापन खर्चका कारणले पनि अघि बढी घाटा हुन पुगेको शाखा प्रबन्धक रामनाथ राईले बताए । प्रबन्धक राईले चालु आवमा २५ देखि ३० लाख रुपियाँसम्म नाफा गर्ने लक्ष्य राखेको बताए । राईका अनुसार शाखाको चालु आवका लागि नौ करोड निक्षेप संकलन र सात करोड रुपियाँ लगानी गर्ने लक्ष्य छ ।
त्यस्तै, स्वावलम्बन लघुवित्त विकास बैंकले गत आर्थिक वर्षमा नौ लाख १५ हजार तीन सय २८ रुपियाँ घाटा भएको जनाएको छ । लक्ष्यअनुसार एक करोड ९२ लाख १७ हजार रुपियाँ कर्जा प्रवाह, ११ लाख ३२ हजार नौ सय ५१ रुपियाँ निक्षेप संकलन भएको भए पनि १० लाख ६४ हजार आठ सय ३७ रुपियाँ मात्र आम्दानी भएकामा १९ लाख १५ हजार तीन सय २८ रुपियाँ खर्च भएकाले घाटा भएको शाखा प्रबन्धक राजेन्द्र विश्वकर्माले बताए । यसैगरी, निर्धन उत्थान बैंक ताप्लेजुङ शाखाले ५ लाख १२ हजार आठ सय ४१ रुपियाँ घाटा रहेको जनाएको छ । गत आवभित्र लक्ष्यअनुसार सदस्य बनाउन र निक्षेप संकलन गर्न नसक्दा घाटा भएको शाखा प्रबन्धक गोविन्द तिमल्सिनाले बताए ।
प्रबन्धक तिमल्सिनाका अनुसार गत आवमा एक करोड ५८ लाख ४५ हजार लगानी गर्ने लक्ष्य लिएको एक करोड ९२ लाख ५५ हजार रुपियाँ लगानी भई लक्ष्य नाघेको छ । उता, निक्षेप संकलनको लक्ष्य २५ लाख रुपियाँ रहेकामा १९ लाख रुपियाँ मात्र भएको र आठ सय ७९ जना सदस्य बनाउने लक्ष्य लिएकामा आठ सय ५२ जना मात्र सदस्य बनेको शाखाले जनाएको छ । सदरमुकाम फुङलिङमा हाल ग्लोबल आइएमई, स्वावलम्बन लघुवित्त विकास बैंक, निर्धन उत्थान बैंकबाहेक जनता बैंक लिमिटेड, क्लिन इनर्जी बैंक, प्राइम कमर्सियल बैंक, फरवार्ड लघुवित्त विकास बैंकले आºना शाखा स्थापना गरी बैंकिङ कारोबार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया