रौतहट । भारतीय पक्षले दशगजा क्षेत्रमा सीमा अतिक्रमण गरेर अस्थायी सांकेतिक चिन्ह खडा गरेको छ । सीमा तटबन्ध निर्माण गर्दा भारतले नेपाली भूमि दुई मिटर मिचेर चिन्ह खडा गरेको पाइएको हो ।
ईशनाथ नगरपालिकाको बन्जरहा क्षेत्रमा करीब दुई सय मिटर सीमा अतिक्रमण गरेको भारतीय पक्षले पनि स्वीकार गरेको छ । दशगजामा रहेको पिलर नम्बर ३४६÷५ देखि ३४६÷७ को बीचमा ३ वटा अस्थायी पिलर र ३४६÷६ देखि ३४६÷७ सम्म ८ वटा सांकेतिक चिन्ह खडा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नेपाल–भारत सीमा क्षेत्र दशगजामा अस्थायी रूपमा सांकेतिक चिन्ह खडा गरिंदा नेपालतिरको करीब दुई सय मिटर जमिन मिचिएको भारतीय पक्षले स्वीकार गरेको बताए ।
भारतीय पक्षले बन्जरहा क्षेत्रमा अतिक्रमण गरेर करीब दश मिटर अग्लो बाँध निर्माण गरिसकेको छ । निक्कै पहिला देखी नै बाँध निर्माण गरेपनि नेपाली पक्षले कुनै चासो देखाएको थिएन् । जसले गर्दा वर्षामा सो क्षेत्रमा रहेका नेपालीतिरको बस्ती डुबानमा पर्ने स्थानीयबासीले बताएका छन् । दुई देशको संयुक्त प्राविधिक टोलीले जीपीएस प्रविधिबाट स्थलगत नापजाँच गर्दा दशगजा मिचेर भारतीय पक्षले एकतर्फी रुपमा सीमामा तटबन्ध निर्माण गरेको प्रमाणित भएको हो ।
माथिल्लोस्तरको निर्णयपश्चात् वर्षापछि अतिक्रमित क्षेत्र खाली गराइने आवश्वासन समेत भारतीय पक्षले दिएको प्रजिअ घिमिरेले जानकारी गराएका छन् । बन्जरहा बासीले नेपाली जमिन मिचिएको र अन्तर्राष्ट्रिय कानून विपरीत भारतले एक पक्षीय रुपमा कैयौं गाउँलाई डुबानमा पार्ने गरी बाँध बनाइरहेकोमा विरोध गर्दै नेपाल सरकारसित बाँध भत्काउन निरन्तर आग्रह गर्दै आएका छन् ।
स्थानीय बासिन्दाहरूको निकै प्रयासपछि भारतीय टोलीका अनुराग कुमार र नेपाली टोलीका उमेश कुमारसहितको प्राविधिक टोलीले जीपीएस प्रविधिबाट नक्शाको पहिचान गरेर सीमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडेको छ । रौतहटका प्रजिअ घिमिरेले स्थानीयहरूको अवस्थालाई मध्यनजर गर्दै निकै प्रयास तथा समकक्षीसँगको सहकार्यमा दुवै देशका सर्भेयर टोलीद्वारा सीमा छुट्याइएको बताएका छन् ।
भारतीय पक्षको नेतृत्व गरेका ढाकाका एसडीएम ज्ञानप्रकाशले दशगजाको दायाँबायाँ ९ मिटरभित्रमा पर्ने बाँधलाई तुरुन्तै हटाउने कुरा स्वीकार गरेको भए पनि समयसीमा नतोकेको बताएका छन् ।
भारतीय पक्षद्वारा करीब दुई सय मिटर सीमाक्षेत्र अतिक्रमण भएको स्वीकार गर्दै चाँडै खाली गराउने प्रतिबद्धता जनाएको हुँदा सोहीअनुरुप नेपाली सुरक्षाकर्मीहरूलाई समय समयमा उनीहरुसँंग सीधा सम्पर्कमा रहेर अविलम्ब सीमाको अतिक्रमण हटाउनेतर्फ यथोचित कदम चाल्न निर्देशन दिएको जानकारी पनि प्रजिअ घिमिरे दिएका छन् ।
प्रतिक्रिया