राजधानी बढ्न थाले संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको हाराहारी विगतका दिन जस्तै भएपनि राजधानी काठमाडौंमा पनि संक्रमित बढ्न थालेका हुन् ।

काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ४७३ जनामा कोरोना संक्रमण, संक्रमितको सया १४५१९, मृत्यु ३१

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार उपत्यकामा १७ जना संक्रमित फेला परेका थिए ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । यो सँगै संक्रमितको सख्या १४ हजार ५१९ पुगेको छ । तीमध्ये एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन् ।

प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।

शिशुको मृत्यु

कोरोना भाइरस संक्रमणबाट एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया