एकैपटक सयबढिले जिते कोभिड–१९

काठमाडौं । आइतवार एकै दिन १०२ जना कोभिड–१९ का संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् ।

कोभिड–१९ का संक्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सख्याको पहिलो पटक सयभन्दा बढि भएको हो । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले संक्रमण जितेका थिए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतवार विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए । अहिलेसम्म डिस्चार्ज हुनेको सख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् ।

बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके, बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ संक्रमितको सख्या २१३ रहेको छ । तीमध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कूल संक्रमितको सख्या तीन हजार ४४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ९६ हजार २०५ व्यक्तिको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआर विधिबाट तीन हजार ७२८ र आरडिटी विधिबाट सात हजार ६१४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताए । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै विभिन्न अस्पतालका आइसोलेशनमा कूल दुई हजार ९६८ संक्रमित व्यक्ति उपचाररत रहेका छन् । क्वारेन्टिन व्यवस्थापन र अस्पतालको आइसोलेशन व्यवस्थापनका लागि मन्त्रालयले विशेष ध्यान दिएको प्रवक्ता डा देवकोटाले बताए । यसैबीच, मन्त्रालयले देशभरका सबै किसिमका अस्पतालबाट के कस्ता सेवा सञ्चालन भएका छन् र हुनुपर्ने सेवा किन भइरहेको छैन भनी अनुगमन, सुरक्षाको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले एक समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ तथा निजी अस्पतालका छाता संगठनको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ । डा. देवकोटाको ठाउमा मन्त्रालयकै डा. जागेश्वरप्रसाद गौतमले सम्हाल्ने भएका छन् । उनले सोमबारदेखि लाइभ प्रसारण गर्नेछन् । डा गौतम यसअघि परोपकार तथा प्रसूतिगृहका कार्यकारी निर्देशक थिए । डा. देवकोटालाई गुणस्तर तथा नियन्त्रण महाशाखामा सरुवा भएको छ । प्रवक्ता डा. देवकोटाले चैत ११ देखि ७६ दिन लाइभ अपडेटले अफूलाई धेरै कुरा सिकाएको भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद दिए । उनले आफ्नो जिम्मेवारी हेरफेर भए पनि लाइभ प्रसारण निरन्तर रहने र यसमा सहयोग गर्न सरोकारवालालाई आग्रह गरे ।

परीक्षण विनै २७ डिस्चार्ज
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालले २७ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । उपचारका लागि भर्ना भएका उनीहरूलाई पीसीआर परीक्षणबिना नै घर पठाइएको हो । डिस्चार्ज हुनेहरूमा रूपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् ।

आइसोलेसनमा बसेकाहरूलाई लगातार दुईपटक पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै डिस्चार्ज गरिँदै आएको थियो । तर, ती संक्रमितहरूलाई भने पीसीआर परीक्षणबिनानै घर पठाइएको हो । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुसार नै उनीहरूलाई परीक्षणबिना डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । २० जेठमा स्वास्थ्य मन्त्रालयले एक निर्देशिका जारी गर्दै कोरोनाका लक्षण नदेखिएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षण नगरेर डिस्चार्ज गर्न भनेको छ ।

डिस्चार्ज गरिएकाहरूलाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने व्यवस्थासहित घर पठाइएको उनको भनाइ छ । सोही निर्देशिकाअनुसार नै २३ जेठमा सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज ग¥यो । अस्पतालको आइसोलेनसमा रहेका अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरूष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरूष तथा वडा नम्बर २ का २० र २२ वर्षीय पुरूषलाई पीसीआर परीक्षणनै नगरी डिस्चार्ज गरियो ।

प्रतिक्रिया