चीनबाट नागरिक फिर्ता ल्याउन समस्या !

काठमाडौं । चीनमा रहेका नेपालीलाई यसै साताको अन्तिममा मात्र नेपाल ल्याइने भएको छ । त्यहाँ रहेकाबाट नेपालमा संक्रमण सर्न सक्ने आशंकाबीच सरकारले आवश्यक सावधानी अपनाउन खोजेका कारण ढिलाई रहेको सरकारी स्रोतले जानकारी दिएको छ । हतारमा उद्धार गरेर ल्याउँदा नेपालमा पनि जोखिम बढ्न सक्ने सुझाव सरकारलाई चिकित्सकले दिएपछि आवश्यक तयारी गरेर मात्र ल्याउन लागिएको हो ।
चिनले पनि नेपालीको स्वास्थ्य अवस्था पहिला जस्तो थियो, उद्धार गरेर ल्याउँदासम्म त्यस्तै रहने आश्वस्त पारेपछि नेपाल आवश्यक तयारीमा जुटेको छ ।

सरकारका एक उच्च अधिकारीका अनुसार उनीहरूलाई राख्ने व्यवस्था मिलाई सक्ने र त्यस लगत्तै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका १८० जना नेपालीलाई ल्याइने बताए । उनका अनुसार तयारीसक्न बुधबारसम्मको समय लाग्नेछ । ‘नेपाल ल्याएर मात्र हुँदैन, उनीहरूमा संक्रमण छ कि छैन भनेर निकै संवेदनशील कक्षमा राखेर निगरानी गर्नुपर्छ’, ती अधिकारीले भने, ‘त्यो तयारी गर्न समय लागेकाले उद्धारमा ढिलाई भइरहेको हो ।’ चीनमा रहेका नेपालीका आफन्तले भने तत्काल उनीहरूलाई उद्धार गरेर ल्याउन भन्दै दिनदिनै छटपटि गरिरहेका छन् । तर, सरकारले उनीहरूलाई सो विषयमा खुलेर भन्न पनि सकेको छैन ।

जसका कारण समस्या देखिएको सरकारी स्रोतको भनाइ छ । ‘उनीहरूलाई उद्धारको नाममा नेपालमा रहेका नेपालीलाई थप जोखिममा नपर्न सरकारले यस्तो कदम चालेको हो’, ती सरकारी अधिकारीले बताए । उता, बेइजिङस्थित नेपाली दूतावासले भने सरकारी कदमको प्रतिक्षामा रहेको बताएको छ । नेपाली पक्षलाई कुन विमान पठाउने भनेर पनि समस्या आएको छ । चीन पठाउने विमानलाई अन्य देशले प्रतिबन्ध लगाउन सक्ने भएपछि समस्या देखिएको हो । यद्यपि यस विषयमा नेपाल बायुसेवा निगमको विमान पठाउने लगभग निश्चित भने भइसकेको स्रोतको दाबी छ ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो । बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त प्रान्तका सबै नेपालीको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयले गरेको काम कारबाहीका सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्यमन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू सक्रमणको जोखिममा रहेको बताइएको छ । दुई हप्तादेखि चीनको सो प्रान्तमा रहेका करिब १८० जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकमा नोबेल कोरोना भाइरसको संक्रमण हुने सन्त्रास भइरहेको र उनीहरूको शीघ्रजीवन रक्षा गरिदिन माग गर्दै अविभावकहरूले आयोगसमक्ष पेश गरिएको ज्ञापन–पत्र एवं नेपाली नागरिकको जीवन रक्षाका सम्बन्धमा आयोगले सो निर्णय गरेको हो ।

प्रतिक्रिया