बाजुरा । बाजुराको हिमाली गाउँपालिकाकामा फैलिएको मौषमी रुघाखोकी भाइरल ज्वरो नियन्त्रणमा लिनेक्रम जारी रहेको छ । बिहीबारदेखि गाउँपालिकाको केन्द्र धुलाचौरका विद्यालयबाट फैलिएको मौषमी भाइरल ज्वरो इन्फ्लुन्जाको गाउँपालिकाभरी नै फैलिएको बताइएको छ ।भाइरल नियन्त्रणका लागि स्थानियस्तरबाट चार जना स्वास्थ्यकर्मीको टिम र जिल्ला अस्पताल बाजुराबाट एक जना डाक्टरसहित दुई जना स्वास्थ्यकर्मी गरी सात जना भाइरल प्रभावित क्षेत्रमा खटाई उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जनकारी दिए ।
स्वास्थ्य शाखाप्रमुख भण्डारीका अनुसार अहिलेसम्म भाइरल संक्रमित ४ सय ६२ जना बिरामीको उपचार गरिएको छ । गत शुक्रबारसम्म १ सय २० जनाको उपचार गरिएको थियो भने आइतबार ५५ जना, सोमबार १ सय ३ जना, मंगलबार ५९ जना र बुधबार १ सय २५ जनाको उपचार गरिएको हो ।
गाउँका बालबालिका तथा ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि अहिले गाउँपालिका आसपासका विद्यालय एक हप्तादेखि बन्द रहेका छन् । गाउँपालिको केन्द्र नजिकै रहेको एन्जल बोर्डिङ स्कुलको शौचालय सरसफाई नभएका कारण सोही विद्यालयबाटै रोग सुरु भएको भाइरल ज्वरो अहिले पुरै समुदायमा फैलिएर महामारीको रूप लिएको स्वास्थ्य शाखा कार्यालय हिमालीले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको विशेष पहल र गाउँपालिकाको आर्थिक लगानीमा एक ट्रक औषधि खरिद गरी नेपालगञ्जबाट गाउँपालिकामा ढुवानी गरी भाइरल सम्भावित क्षेत्रमा पठाइएको बताइएको छ । मौषमी भाइरल संक्रमितमा १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, सास फेर्न गारो हुने, साथै बालबालिकामा झाडापखाला जस्ता लक्षण देख परेको स्वास्थ्यकर्मीको भनाइ छ ।
बाजुरामा दुई जनाको मृत्यु
बाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुमा ज्वरोका कारण ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु भएको हो । बाजुरामा भाइरलका कारण बिरामी हुनेको संख्या तीन सय पुगेको छ ।
अहिले वडा–१ को जोरुमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ ।
सिअहेव नरेन्द्र बुढाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले वडा–१ का सय बढी बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर रोकायाले जानकारी दिएका छन् । सो क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भाइरलका बिरामीको उपचार गरिरहेको जनाइएको छ । भौगलिक विकटता र सिंगो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको बताइएको छ ।
प्रतिक्रिया