वन्दरगाहमै बैंकिङ सुविधा

काठमाडौं, १६ साउन । नेपाल–बंगलादेशबीचको व्यापारमा बंगलाबन्ध वन्दरगाहमै भन्सार र बैंकिङ सुविधा तथा एक सय कृषि वस्तुमा भन्सार छुट दिने सहमति भएको छ । दुई मुलुकबीच सोमबार काठमाडौंमा सम्पन्न वाणिज्यवार्तामा यो सहमति भएको हो । सहमतिपत्रमा वाणिज्य सचिव लालमणि जोशी र बंगलादेशी समकक्षी मोहम्मद गुलाम हुसेनले हस्ताक्षर गरेका छन् ।

बंगलाबन्ध वन्दरगाहमा भन्सार सुविधा भएपछि नेपाली व्यवसायीलाई थप सुविधा हुने भएको छ । यसअघि सो सुविधा नहुँदा नेपाली व्यवसायी ३० किलोमिटरभन्दा टाढा गएर भन्सार तथा बैंकिङ कारोबार गर्न बाध्य थिए । बैंकिङ तथा भन्सार सुविधा हुने भएपछि नेपाली व्यवसायीले विगतजस्तो समस्या झेल्नुपर्ने छैन । विगतमा यो सुविधा नहुँदा नेपाली वस्तु भन्सार छुटाउन लामो समय लाग्ने गरेको व्यवसायीको भनाइ छ ।
व्यवसायीसमेत दुई मुलुकबीचको वाणिज्य सम्झौतालाई सकारात्मक रूपमा लिएको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले दुई मुलुकबीचको वार्ताले नेपाली वस्तुको निर्यातमा सहजता हुनुका साथै मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताए ।
‘अहिले भएको सहमतिले नेपाली पक्षलाई समेत फाइदा पुग्ने देखिन्छ,’ उनले भने, ‘वस्तु निर्यातमा भन्सार छुटले मुलुकको उत्पादन सहज निकासी हुने र अर्थतन्त्रमा समेत टेवा पुग्छ ।’ उनले एक सय कृषि वस्तुमा भन्सार शुल्क नलाग्ने भएपछि नेपालको निर्यात–व्यापार बढ्ने विश्वास व्यक्त गरे । तर, नेपाली रुपियाँ बंगलादेशमा समेत चल्नसक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले नेपालका वस्तुसमेत बंगलादेशले लिनसक्ने भएकाले वार्ता दुवै मुलुकको हितमा भएको बताए । तर, नेपाली ट्रकले बंगलादेशसम्म जान पाउने सुविधा भएमा थप सहजता हुने जनाए ।
यसबीच बंगलादेशले बंगलाबन्ध हुँदै जाने नेपालीलाई अनएराइभल भिसासमेत दिने भएको छ । यसबाट नेपाली पक्षलाई थप सुविधा हुने सरकारी पक्षको बुझाइ छ ।
बंगलादेशले नेपाली एक सय कृषि वस्तुलाई भन्साररहित प्रवेश दिन सहमत भएको छ । झन्डै एक दसकपछि बंगलादेश नेपाली कृषि वस्तुलाई भन्साररहित सुविधा दिन सहमत भएको हो । कृषि वस्तुमा भन्साररहित प्रवेश दिन बंगलादेश सहमत भएको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लालमणि जोशीले दुई मुलुकबीचको सचिवस्तरीय वाणिज्य वार्तामा भन्साररहित सुविधालगायतका सहमतिपत्रमा हस्ताक्षर भएको जनाए ।
‘बंगलादेशले बंगलाबन्ध बन्दरगाहमै भन्सार र बैंकिङ सुविधा दिने सहमति गरेको छ,’ उनले भने, ‘दुई मुलुकबीच भएको यो सहमतिले तरकारी, फलफूललगायतका कृषि उपजको निर्यातका सहज हुने तथा नेपाली पक्षलाई बढी फाइदा हुनेछ ।’ यस्तै, बंगलादेशले नेपालको विद्युत् खरिद गर्नेसमेत सहमति गरेको मन्त्रालयले जनाएको छ । यो भन्साररहित सुविधा भने कार्यान्वयनमा आउन भने समय लाग्ने उनले जनाए । उनका अनुसार दुवै मुलुकका सचिवस्तरीय बैठकले कुन वस्तुलाई भन्सार छुट दिने भन्ने पहिचान गर्ने छ ।
मन्त्रालयका अनुसार आगामी सेप्टेम्बरमा दुई मुलुकबीच सहसचिवस्तरीय बैठक गर्ने सहमति भएको छ । सो बैठकले भन्सार छुट दिने वस्तुको पहिचान गर्नेछ । यसअघि नेपालले कृषि वस्तुमा भन्सार छुटको आग्रह गर्दा बंगलादेशले पनि सुविधा माग गरेको थियो । उसले आफ्नो मुलुकबाट नेपालले आयात गर्ने प्रमुख वस्तुमा सुविधा माग गरेको मन्त्रालयले जनाएको छ । बंगलादेशबाट औद्योगिक कच्चा पदार्थ, धागो, माछालगायतका वस्तु तथा उपकरण आयात हुने गरेको छ भने नेपालबाट मुसुरोको दाल, अलैचीलगायतका वस्तु निकासी हुने गरेका छन् ।

प्रतिक्रिया