विद्यालयमै स्वास्थ्य परीक्षण

अर्घाखाँची । जिल्लाको विजय माध्यमिक बिद्यालय डिभर्नाले जिल्लामै पहिलोपटक विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य परीक्षण कार्य सुरू गरेको छ ।

सन्धिखर्क नगरपालिका–११ मा रहेको विजय मावि तथा डिभर्ना स्वास्थ्यचौकीको आयोजना र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको समन्वयमा स्वास्थ्य परीक्षण सुरू भएको हो । पहिलोपटक सुरु गरिएको स्वास्थ्य परीक्षणमा विद्यालयका ८५ जना विद्यार्थी लाभान्वित भएका छन् ।

स्वास्थ्य परीक्षणको अवसरमा किशोरकिशोरीलाई परामर्श सेवा र निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । विद्यार्थी वर्तमानका साझेदारी भोलिका कर्णधार भएकोले आजका विद्यार्थीलाई स्वच्छ, स्वथ्य राख्नसके मात्र मुलुकको समृद्धि हुने वडाध्यक्ष धुर्वराज आचार्यले बताए ।

आचार्यले पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत स्थानीय सभामा उठेका विभिन्न सवाललाई वडाभित्रै उपलब्ध स्रोत साधनको प्रयोगबाट स्वास्थ्य परीक्षणको शुभारम्भ गरिएको र यसलाई नियमित गर्ने बताए ।

विद्यालय प्राचार्य भूपाल खनालले शिविरबाट विद्यार्थीहरूले स्वास्थ्यजस्तो संशेदनशील क्षेत्रमा लाभ लिन सफल भएको बताए । वडासचिव पुस्करनाथ आचार्यले स्वास्थ्यचौकी, वडा कार्यालय र विद्यालय बीचको सम्बन्ध र परियोजनाको समन्वयका कारण विद्यार्थीहरूको स्वास्थ्य परीक्षण कार्य प्रभावकारी रूपमा सम्पन्न भएको बताए ।

कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी संगीता नेपालीले आप्mनो विद्यालयमै साथीहरूसँगै स्वाथ्यको बारेमा चेकजाँच गराउन पाउँदा निकै खुसी लागेको बताइन् । नेपालीले भनिन, ‘विद्यालयमै नियमित स्वाथ्य परीक्षण गर्नु आवश्यक छ, हाम्रो सबै स्वाथ्यका समस्याहरूलाई भन्न सजिलो हुन्छ, महिलाहरूमा धेरै खालका स्वाथ्य समस्याहरू छन् ।’

स्थानीय सभामा स्वाथ्य, शिक्षा तथा कृषिका विभिन्न समस्याहरूको बारेमा नियमित रूपमा छलफल भई समस्याहरूको समाधान गर्दै निरन्तर सुशासन कायम गर्न लागिपरेको एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले वताए । स्वाथ्य परीक्षण कार्यक्रममा विधार्थीहरूको उत्साजनक सहभागिता रहेको संस्थाका अनुसन्धानकर्मी सागर परियारले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया