उमेरदार पाका

सामान्यतया ९० वर्षको उमेर पाउने मानिस कमै हुन्छन् । त्यो उमेर पाउनुअघि नै धेरैले आँखा देख्न छाड्छन्, कान सुन्दैनन् र अरूको सहारामा मात्रै हिँडडुल गर्न सक्छन् । तर, नेपाली राजनीतिका चतुर खेलाडी मानिने ८९ वर्षीय डा. केशरजङ्ग रायमाझी अपवादमध्ये एक पर्छन् । उमेरले नेटो काटेको लामो समय भए पनि उनको स्मरणशक्ति र शरीरमा बुढ्यौलीका त्यस्ता लक्षण छैनन् । उनको दीर्घ निरोगी जीवनको रहस्य पनि घतलाग्दो नै छ ।
बिहान पाँच बजे नै विस्ताराबाट उठ्ने रायमाझीको शारीरिक कसरत करिब एक घन्टासम्म चल्छ । त्यसपछि उनी कहिलेकाहीँ हल्का हिँडडुल गर्छन् । फर्केर पत्रपत्रिका हेर्छन्, रेडियो सुन्छन् र टिभीतिर आँखा डुलाउँछन् । उनको भनाइमा उनी हरेक दिन आफ्नो देशका घटनाको अध्ययन गर्छन् ।
रायमाझीका लागि वर्जित खाद्य यही हो भन्ने छैन । तथापि बिहानको खाजामा अन्डा र केरा हुन्छ नै । अमिलो, चिल्लो र पिरो यिनको रोजाइ होइन र ग्यास्टिकका कारण खाँदैनन् पनि । पहिले जमेर मदिराको मजा लिने गरेका उनी अचेल रक्सी छुँदा पनि छुँदैनन् ।
‘रुसमा खाएको रक्सीको कुरै नगरौँ,’ कुनै बेला रुसपन्थी भनेर आलोचित तर ०१९ सालदेखि दरबारपन्थी भनिएका डा. रायमाझीले रौसिँदै भने । घरबाहिर होस् वा भित्र, जहाँ भए पनि टाइसुटमा चिटिक्क छाँटिनु रायमाझीको बानी नै हो । ‘म सधैँ यस्तै कपडा लगाउँछु,’ पोसाकप्रतिको आफ्नो रुचिबारे बताए उनले ।
यो उमेरमा पनि स्वस्थ हुँदा डा. रायमाझीलाई औधी खुसी लाग्छ । हुनेखाने पारिवारिक संस्कृतिका भए पनि घरमा पाकेको साधारण खाना खान्छन् । सामान्यतया बिहानको खाना एक बजेतिर हुन्छ । खानामा अरुचि पटक्कै छैन, बरु यस उमेरमा पनि उनलाई भोक लागिरहन्छ । सागपात, केरा, दूध र मिटबल हुन्छ उनको परिकारमा । पुरानो कम्युनिस्ट पार्टीका यी महासचिवलाई दूधमा केरा मिसाएर भात खाँदा मीठो लाग्छ ।
डा. रायमाझीकहाँ भेटघाटका लागि मान्छे आइरहन्छन् । भन्छन्– ‘कोही सन्चो बिसन्चो सोध्छन्, कोही राजनीतिक कुराकानी गर्छन् ।’
त्यसो त उनी भेटघाटका लागि अरूकोमा पनि जाने गर्छन् । उनले सम्झे, ‘पछिल्लो–पटक पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जानुअगाडि उनलाई भेट्न निर्मल–निवास गएको थिएँ । त्यति–बेला ज्ञानेन्द्र शाहले मलाई तपाईंहरूले बनाएको ०४७ कै संविधान ठीक थियो भनेका थिए ।’
डा. रायमाझीको भनाइमा केही महिना–अगाडि मसालका अर्धभूमिगत नेता मोहनविक्रम सिंहले पनि उनीसँग भेटघाट गरेका थिए । सिंहले भेटमा राजनीतिभन्दा बढी स्वास्थ्यका बारेमा कुरा गरे । समयसमयमा उनको निवासमा उनका पुराना सहकर्मी र हालका संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य पनि भेटघाटका लागि आउने गर्छन् । भेटघाटले पनि स्वास्थ्यमा अनुकूल असर गर्दो रहेछ ।
बैंसमा र अहिले के फरक छ ? रायमाझीको जवाफ थियो, ‘पहिले त म हिँडेर एकैदिनमा पाल्पा पुग्थेँ, अहिले सक्दिनँ ।’ उनी कसैसँग कुरा गर्न झर्को मान्दैनन् । घरको फोन प्रायः उनी आफैँ उठाउँछन् । उनी बरोबर आफ्ना साथीभाइसँग भेटघाट गर्छन् । यसले रमाइलो हुन्छ उनलाई । कामै नभए पनि सहर घुम्न निस्कन्छन् । ‘ऊ त्यसले गाडी चलाउँछ, म गाडीमा बसेर यसो सहर घुम्छु,’ छेउमै रहेका सहयोगीलाई देखाउँदै उनले भने, ‘इन्द्रचोक, न्युरोड, महाराजगन्ज, नारायणहिटीवरिपरि घुम्छु, चिनेजानेकाले हालचाल सोध्छन्, नमस्कार गर्छन्, आफूलाई रमाइलो लाग्छ ।’
डा. रायमाझीले आफूले जीवनमा धैरै जिम्मेवारी पूरा गरेको बताए, ‘म त कम्युनिस्ट पार्टीको महासचिव, राजसभा स्थायी समितिको सभापति, पटक–पटक मन्त्री पनि भएर जिम्मेवारी लिएको हुनाले हिजोका दिनमा धैरै काम गरेको हुँ ।’
चाडबाडको विशेष अवसरमा बाहेक पूजापाठ नगर्ने रायमाझी पूजा गर्दा शान्तिको कामना गर्छन् । नित्य तातो–पानीले नुहाउँछन् । आफ्नो दिनचर्याबारे उनले भने, ‘एक दिन बिराएर दाह्री काट्छु, कहिले आफैँले, कहिले सहयोगीले काटिदिन्छ । जीवनमा धेरै काम गरियो । विश्वका सबैजसो मुलुक घुमँ ।’
उनले भने, ‘एक हप्ताका लागि चीन गएको थिएँ, माओले एक महिना राखे । बस, सबै चीन घुमेर जाऊ भने र म एक महिना बसेँ ।’ चीनमा बसेको र माओलाई भेटेको कुरा पटक–पटक दोहो¥याए उनले । त्यति–बेला माओले नेपालको खुब प्रशंसा गरेको बताए रायमाझीले ।
कुराकानीबाट थाहा भयो, रायमाझीलाई घरपरिवारको भन्दा देशको चिन्ता लाग्छ रे । शान्ति होस्, बुद्धको देशमा हत्या–आतङ्क नहोस् भन्ने लाग्छ रे । सबै मिलून् भन्ने लाग्छ रे ।
डा. रायमाझीको स्वास्थ्यवार्ताको निचोड उनकै शब्दमा, ‘पत्रकारहरू आउँदा खुसी लाग्छ । उनीहरू मेरो कुरा बाहिर लागिदिन्छन् । मलाई अझ पनि लेख्न मन लाग्छ । भर्खरै किताब लेखेर सिध्याएको छु, अब छिट्टै प्रकाशित हुन्छ ।’ ८९ वर्षीय भूतपूर्व कम्युनिस्ट नेता अझै थाकेका छैनन् ।

प्रतिक्रिया