लोकतन्त्र र संघीयता नै कांग्रेसको एजेण्डाः प्रवक्ता शर्मा

पोर्चुगल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र संघीयताको संस्थागत गर्नु नै कांग्रेसको मुख्य एजेण्डा भएको बताए ।

कांग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा प्रवक्ता शर्माको जोड थियो । ‘सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ’, शर्माले भने । राजनीतिलाई राम्रो बनाउनुपर्नेमा जोड दिँदै नेता उनले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताए ।

मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न कांग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गरे ।

देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताए । ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने ?’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि कांग्रेसले पहल गर्ने बताए ।

नेपाली नागरिक हुनुमा गौरव मान्नुपर्ने धारणा राख्दै उनले भौतिक विकास र निर्माणसँगसँगै नेपाली–नेपालीबीचको भावनात्मक एकतालाई पनि गाँस्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुेन्द्रजङ्ग शाहीले सरकार चौतर्फीरूपमा असफल भएको बताए ।

समितिका सभापति विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान युरोपका रञ्जन ओझा, ट्रेड युनियन कांग्रेसका तीर्थ खनाल, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले बोलेका थिए ।

विश्व शान्तिको कामना गर्दै जलधारा महायज्ञ

विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ । द  ट्रुथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजना तथा सत्य सनातन धर्मका प्रवद्र्धक एक नेपाली योगीको पहलमा सोमबार राजधानी लिस्बनको अल्जेसस्थित समुद्री किनारमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको हो ।

महायज्ञमा विधि विधानसहित मन्त्रोचारण गर्दै ऋग्वेदको पाठ, देवीदेउताको पूजा, पृथ्वी, जल, वायु, आकाशलगायत विश्व शान्तिको कामना गरिएको योगी श्रीओम सूर्य शिवले जानकारी दिए । विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा आध्यात्मिक र शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले जलधारा महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले बताए ।

महायज्ञमा वेद्धान्तिक ज्ञान, शुद्धज्ञान र आत्म ज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचनसमेत दिइएको उनले बताए । यस्तै जनैपूर्णिमाको अवसर पारेर विहीबारका दिन लिस्बनको आन्जुसमा शिव पूजा, पाञ्चायन पूजा, जनै प्राण प्रतिष्ठा गरिने र भक्तजनलाई जनै लगाइदिने तथा प्रसाद वितरणको कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया