जाजरकोट । छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने भएका छन् । ५१ वर्षको उमेरदेखि आँखा देख्न छाडेका उनि अहिले ११ वर्षपछि दोस्रो पटक आँखा खुल्दा खुशी भएका हुन् ।
‘नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ, तर अहिले १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै रहेन, ‘सिंहले भने । सोही ठाउँकै सिर्जना विकले पनि करीब पाँच वर्षपछि आँखा देख्न पाउँदा खुशी भएको बताइन् ।
आँखा नदेख्दा सबैले हेप्ने र दुःख दिने गर्दथे अब आँखा देख्ने भएपछि घरको कामदेखि अरुलाई सघाउनेसम्मका काम गर्दै आएको विकले बताइन् । उनीहरु जस्तै ६६३ जना पुनः संसार देख्न पाइएकामा खुशी भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा धेरैले पुनः संसार देख्न पाएका हुन् ।
दुर्गम गाउँमा स्वास्थ्यकर्मी उपस्थिति नहुनाले उपचार गर्न नपाएका र अर्थाभावमा कारण रोग पालेर बस्न बाध्य भएका सर्वसाधारणले गाउँमै उपचार गर्न पाउँदा खुशी भएको उक्त नगरपालिका–४ का बलबहादुर सिंहले बताए । उनले भने, ‘यस्ता खालका शिविर पहिले भएका थिएनन्, गाउँमा त झन् को पो आउँथ्यो र रु अहिले हाम्रा लालबहादुर महतरा प्रदेश सरकारमा पुग्नुभएकाले हामीलाई घर नजिकै उपचार गर्न सहज भएको छ ।’
अझै पनि दुर्गम गाउँमा आँखाका बिरामी भए पनि उपचार नपाएर अर्काको सहारा लिन बाध्य भएको उनको भनाइ थियो । उक्त मन्त्रालयको सहयोगमा जिल्लाका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन् । अर्थाभाव भएका, अशक्त, र अपाङ्गता भएका व्यक्तिले बढी शिविरबाट सेवा लिएको उक्त नगरपालिकाको स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिए ।
प्रतिक्रिया