शल्यक्रियाको क्रममा १ महिलाको मृत्यु

मुगु । जिल्ला अस्पताल मुगुमा शल्यक्रियाको क्रममा शनिबार बिहान एकजना महिलाको मृत्यु भएको छ । शल्यक्रिया शिविरमा उपचार गर्दै गर्दा सोरु गाउँपालिका–५ की ४५ वर्षीया कन्नकला विष्टको मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा डाक्टर भोला श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार उनको शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरिसकेपछि बिष्ट बर्बराउने, कराउने, वान्ता गर्नेजस्ता कार्यले टाँका फुत्किएकाले धेरै नै रक्तस्राव भएको थियो । जिल्ला अस्पतालकै ल्याबमा कार्यरत सरस्वती शाहीले एक प्वाइन्ट रगत दिएर पुनः दोस्रोपटक विष्टको शल्यक्रिया गरिएको भए पनि टाँका फुत्किएर रगत फोक्सोमा पुगेर मृत्यु भएको हुनसक्ने जिल्ला अस्पतालका डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आयोजना गरेको पाठेघर खसेका महिलाका लागि आयोजित शल्यक्रिया शिविरमा उपचारका क्रममा अन्य महिलाको भने सफल शल्यक्रिया भएको छ । पाठेघर खस्ने महिलाको शिविरमा जुम्लाका चिकित्सक भोला श्रेष्ठ सहितका चिकित्सकले शल्यक्रिया गरेर उपचार गरिरहेका थिए । शिविरमा अन्य महिलाको भने सफल शल्यक्रिया भएको छ ।

मृत्युको मुखमा पुगेकी छायानाथ रारा नगरपालिका–१३ रुगा गाउँकी जाना लावडलाई भने बचाउन सकिएको छ । हेमोग्लोबिन न्यूनतम १२ प्वाइन्ट हुनुपर्ने भए पनी जाना लावडको शरीरमा ६ प्वाइन्ट मात्र थियो । नेपाली सेनाका एक जना जवानले रगत दिएपछि सफल शल्यक्रिया भएको डाक्टर निर्मल नगरकोटीले बताए । मुगुमा ब्लड बैंक नहँुदा शल्यक्रियाको समयमा रगतका लागि गुहार माग्नुपर्ने र रगत अभावमै बिरामीको मृत्यु हुने सम्भावना धेरै रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

प्रतिक्रिया