काठमाडौं । भवन जापानी सहयोग नियोग (जाइका) ले २०७२ सालको महाभूकम्पका कारण क्षतिग्रस्त वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई जाइकाले भवनको साँचो हस्तान्तरण गरेको हो । हस्तान्तणपछि प्रवक्ता श्रेष्ठले अबको एक महिनामा दुबै अस्पताल भवनको उद्घाटन गरिने जानकारी दिए ।
जाइकाले समयमै आफ्नो काम सम्पन्न गरी कामप्रतिको जिम्मेवारीबारे सिकाएको भन्दै उनले भने, ‘स्वास्थ्य संस्थाको (भवन) सबैभन्दा ठूलो संरचनामध्ये समयमै निर्माण सम्पन्न भएको यो पहिलो संरचना हो । जाइकाले समयमै आफ्नो काम सम्पन्न गरी कामप्रतिको जिम्मेवारीबारे सिकाएको छ ।’
स्वास्थ्य क्षेत्रको निर्माणाधीन स्थायी संरचनामध्ये जाइकाले समयमै वीर र प्रसूतिको अत्याधुनिक भवन निर्माण गरी मन्त्रालयलाई बुझाएको हो । जाइकाले भवन निर्माणसँगै अस्पतालमा आवश्यक उपकरणहरू, शैया र आवश्यक अन्य सामग्रीहरू समेत उपलब्ध गराएको छ ।
भूकम्पका कारण वीर अस्पतालको नयाँ आइसियू भवन, मेडिकल रेकर्ड शाखा रहेको भवन र फोहोरमैला व्यवस्थापन केन्द्रको भवनमा क्षति पुगेको थियो भने प्रसूति गृहको २ सय ६० शैया रहेको भवनमा भूकम्पले क्षति पुर्याएको थियो । अस्पतालले उक्त भवनका सेवा अन्य सेवा दिने भवनबाटै समस्या झेलेर मुस्किलले सेवा प्रदान गरिरहेको थियो । तर, अब नयाँ भवनबाट सेवा दिने छ ।
प्रसूति गृहको नयाँ भवनमा २४ शैयाको आकस्मिक कक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी कक्ष, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुई वटा शल्यक्रिया कक्ष, पोस्ट अपरेटिभ वार्ड, १२ शैयाको आमाहरूका लागि आइसियू, ४० शैयाको बच्चाको आइसियू रहेका छन् ।
वीरको नयाँ भवन ९२ शैयाको हुनेछ भने सोही भवनमा मुटु, मृगौला र पेट रोग विभागहरू सञ्चालन हुनेछन् । त्यसैगरी, अस्पतालको उक्त भवनमा शल्यक्रिया कक्ष, भेन्टिलेटर सहितको आइसियू कक्ष समेत राखिएको बताइएको छ । दुबै अस्पतालका भवन पुरानै मौलिकता झल्किनेगरी बनाइएको छ ।
प्रतिक्रिया