गाउँमै आँखा चेकजाँच हुँदा स्थानीय खुसी

मुगु । हिमाली जिल्ला मुगु र हुम्लाका ग्रामीण बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन हँुदा स्थानीय खुसी भएका छन । गाउँमै निःशुल्क आँखा चेकजाँच गर्न पाउँदा स्थानीय खुसी भएका हुन् ।

गएको २० वैशाखदेखि नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको टोलीले मुगु र हुम्लाका गाउँबस्तीमा पुगी निःशुल्क शिविर सञ्चालन गरी सेवा दिँदै आएको छ । २० वैशाखमा हुम्लाको ताँजाकोट गाउँपालिकाबाट निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको टोली अदानचुलि गाउँपालिका हँुदै यति वेला मुगुको सोरुगाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि दुई हजार बढीले सेवा लिए भने त्यस मध्ये मोतियाविन्दु भएका १ सय ५६ जनाको शल्यक्रिया गरिएको छ । मुगुको सोरु गाउँपालिकामा ४० जनाको शल्यक्रिया गरिएको छ भने हुम्लाको ताजाँकोटमा ५१ जना र अदाँनचुलीमा ५६ जनाको सफल शल्यक्रिया गरिएको उपचारमा संलग्न डा.शक्तिप्रसाद सुवेदीले जानकारी दिए ।

आँखा शिविरमा अधिकांश मोतियाविन्दुका बिरामी बढी फेला परेका छन् । उपचारमा संलग्न डा.सुवेदीका अनुसार मुगु र हुम्लाका ग्रामीण भेगमा मोतियाविन्दुको समस्या पहिलो स्थानमा रहेको छ । त्यस्तै, मोतियाविन्दुपछि आँखामा मासु पलाउने र आँखाको भाइरलहरू समेत धेरै देखिएको उनले जानकारी दिए । निःशुल्क आँखा शिविरमा मुगु र हुम्लाका दुई हजार बढीले आँखा परीक्षण गराई आवश्यकताअनुसार औषधि र चश्मा पाएका छन् ।

ग्रामीण भेगमा आँखा अस्पताल नहुँदा स्थानीयले आँखाको उपचारमा समस्या भोग्दै आएका सोरुगाउँपालिका स्थानीय पदमबहादुर शाहीले बताए । गाउँमै यस्तो सुविधा पाउँदा स्थानीयले धन्यवादसमेत दिएका छन् । उपचारका लागि बाहिर जिल्ला जानुपर्ने खर्च नभएर पीडित भएका स्थानीयलाई राहत भएको शाहीको भनाइ छ । शिविरमा उपचारका लागि आउनेहरूमा अधिकांश वृद्धवृद्धा रहेका बताइएको छ ।

निःशुल्क आँखा शिविर स्थानीय गाउँपालिको आयोजना, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा मुगु र हुम्लाका ग्रामीण क्षेत्रमा २० देखि ३० वैशाखसम्म तीन स्थानमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया