सांसद सधैँ किन क्रुद्ध ?

काठमाडौं । आर्थिक वर्ष ०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि प्रतिनिधि सभामा छलफल चलिरहेको थियो । छेउकै हलमा चिकित्सकको एक टोलीले व्यस्थताका साथ सांसदको रक्तचाप जाँच गरिरहेका थिए ।

पछिल्लो समय सांसदहरू संसदका बैठकमा क्रुद्ध हुने गरेका घटना देखा पर्न थालेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बेला प्रधानमन्त्री र स्वयम सांसदहरूले बोलेका शब्द सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन निर्देशन दिए । संसदीय इतिहासमा संसदको बैठकमै सांसद र प्रधानमन्त्रीबीच तँ तँ र म म को अवस्था श्रृजना हुनु निक्कै दुखद मानिएको छ । अखिर मानिस किन क्रुद्ध बन्छ ? यसका धेरै कारण हुन सक्दछन् । जसमध्ये एक प्रमुख कारण हो, रक्तचापको समस्या ।

सोही विषयलाई मध्यनजर गर्दै सांसदको रक्तचापको जाँच गरिएको थियो । नभन्दै जाँच गरिएकामध्ये अधिकांश सांसदमा उच्च रक्तचापको समस्या देखिएको छ । टिचिङ अस्पतालमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थी र संघीय संसदको स्वास्थ्य शाखाले सांसदहरूको रक्तजाँच नापेको हो ।

संघीय संसद सचिवालयका चिकित्सक पुष्प रिजालका अनुसार ७२ जना सांसदको ब्लड प्रेसर जाँच गर्दा धेरैमा उच्च रक्तचाप देखिएको जानकारी दिए । विशेषतः सांसदहरू विभिन्न कार्यक्रममा सहभागी हुने, भेटघाटमा व्यस्त हुने र सो समयमा चिया, कफी र चिल्लो तथा नुन भएको वस्तु धेरै खाने हँुदा यस्तो समस्या देखिएको हो । अधिकांशले चिया र कफी धेरै पिउने भएकाले यो समस्या देखा परेको चिकित्सक रिजालले बताए ।

‘सभामुखलाई पनि उच्च रक्तचापको समस्या रहेछ,’ रिजालले भने, ‘उहाँले औषधी खाइरहनु भएको रहेछ । त्यसले जाँचमा भने सामान्य नै देखियो ।’ जाँच गरिएकामध्ये कतिपय सांसदले पहिलादेखि नै उच्च रक्तचापको औषधी सेवन गरिरहेको पाइएको उनले बताए । स्वास्थ्य जाँचसँगै विद्यार्थी र चिकित्सकहरूले सांसदहरूलाई चिया, कफी कम पिउन तथा नुन कम खान सुझाव दिएका छन् । ‘हामीले लिखित रूपमै एउटा पेपरमा नुन कम खाने, खानामा चिल्लो र बोसो कम खाने, हरियो सागपात खाने, चिया कफी कम गर्ने र तनाव कम गर्न सुझाव दिएका छौँ,’ रिजालले भने, ‘दैनिक आधा घन्टा व्यायाम गर्न पनि सुझाएका छौँ ।

रक्तचापको समस्या झट्ट सुन्दा ठुलो नभएपनि यो निक्कै खतरनाक रहने गरेको चिकित्सकहरू बताउछन् । यसले गर्दा व्यक्तिको अकालमा ज्यान समेत जाने गरेको छ । नेपालमा वार्षिक रुपमा यसबाट मृत्यु हुनेको सख्या अत्याधिक रहने गरेको छ । ‘वार्षिक ३३ हजार उच्च रक्तचाप भएका व्यक्तिले ज्यान गुमाउँछन्,’ रिजालले भने, ‘तर आधाभन्दा बढी नेपालीलाई आफ्नो रक्तचाप थाहा छैन ।’

सन् २०१९ को मे महिनामा मात्र नेपालभर २२ हजारको ब्लड प्रेसर नापिएको बताए । ‘तथ्यांकमा हेर्दा २२ हजारमध्ये ३१ प्रतिशतलाई उच्च रक्तचाप भेटियो’, रिजालले भने । ‘ब्लड प्रेसरले किड्नीमा समस्या देखिन्छ, आँखामा पक्षघात समस्या हुन्छ’, उनले भने, ‘नुन कम खाने र कसरत गर्दा मात्र पनि यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।’

प्रतिक्रिया