दान गरेको रगतमा व्यापार गरियोः रक्तदाता

काठमाडौं । विभिन्न रक्तदाताहरुले निःशूल्क दान गरेको रगतको मूल्य कायम गरी सरकार र नेपाल रेडक्रसले व्यापार गरेको आरोप लगाएका छन् ।

राजधानीमा शनिबार सम्पन्न नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औँ केन्द्रीय साधारणसभामा रक्तदाताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा रगतको मूल्यको विषयले निकै चर्चा पाएसँगै जवाफमा सरकारी अधिकारी र रेडक्रसका प्रतिनिधिले मूल्यको विषयमा गम्भीर ध्यानाकर्षण भएको आश्वासन दिएका थिएका थिए ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले रगत व्यवस्थापनको जिम्मा लिएको रेडक्रसले दान गरेको रगतमै चर्को मूल्य अशुली रहेको दावी गरे । उनले रगत व्यवस्थापनमा समेत रेडक्रस नेतृत्व चुस्त नहुँदा रक्तदाता समेत घट्न थालेको बताए । उनले भने, ‘आफूलाई चाहिँदा पाइने होइन, अहिले किन दिनु भन्ने कतिपयमा भावनाको विकास हुन थालेको छ, यो गम्भीर विषय हो ।’

कार्यक्रममा केन्द्रीय रक्तसञ्चार व्युरोको अध्यक्ष समेत रहेकी केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले रगतको मूल्यको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै आगामी बर्षसम्म यसको सकरात्मक नतिजा निस्कने आश्वासन दिइन् । उनले सरकारले निशुल्क रगतको वितरणलाई स्वास्थ्य बीमाको कार्यक्रममार्फत सम्बोधन गर्ने तयारी गरेको कार्यक्रममा सुनाईन् ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकका निर्देशक डा. मनिता राजकर्णिकारले सहज रुपमा रगत उपलब्ध गराउन आफूहरु लागि परेको बताइन । उनले रेडक्रस संस्थागत रगत वितरणमा लागेको समेत जानकारी दिइन । समाजका रुपन्देही शाखा प्रमुख कृष्ण चौहान, नेपाल थालेसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, समाजका उपाध्यक्ष ध्रुव थपलिया, समाजका संस्थापक अध्यक्ष दिव्यमणि दीक्षित लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा समाजका केन्द्रीय समिति लगायत २५ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता थियो । विसं २०६२ माघ १५ मा स्थापना भएको स्वयंसेवी रक्तदाता समाजले रक्तदान कार्य र जनचेतनाका विषयमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया