सल्यान । सल्यानको एक गाउँपालिका द्वारा संचालित सबै एम्बुलेन्समा अबदेखि छुट पाइने भएको छ । जिल्लाको छत्रेश्वरि गाउँपालिकाले सबै बर्थिङ सेन्टरमा उपलब्ध बनाएका एम्बुलेन्स चढ्दा छुट दिने निर्णय गरेको हो ।
गाउँकार्यपालिकाको सम्पन्न २६ औ बैठकले गाउपालिका भित्रका विभिन्न स्तरका नागरिकहरूले एम्बुलेन्स प्रयोग गर्दा छुट पाउने निर्णय गरेको हो । घरमा हुने सुत्केरीको संख्या शुन्यमा झार्ने उद्देश्यले गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।
हाम्रो गाउँपालिका भित्र आमा र बच्चाको ज्यान बचाउनको निम्ति बर्थिङ सेन्टर संचालनमा ल्याएको जानकारी दिंदै अध्यक्ष केसीले अहिले उनीहरु तथा अन्य नागरिकका लागि छुटको ब्यबस्था मिलाएको बताए । उनले यहाँका ग्रामीण क्षेत्रमा बिरामीलाई समयमै अस्पताल सम्म पु¥याउन नसक्दा अकालमै धेरैले ज्यान गुमाउने बाध्यता रहेको बताउँदै त्यसलाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्नुपरेको समेत जानकारी दिए ।
घरमै सुत्केरी हुनेहरुको संख्या शुन्यमा झार्ने अभियानलाई प्रोत्साहनका लागि गाउँपालिका भित्रका स्थानीय गर्भवती महिलाहरु बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थासम्म पुग्नको लागि २५ प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको गाउँ स्वास्थ्य शाखा प्रमुख अमर शर्माले बताए ।
त्यसैगरी गाउँपालिका क्षेत्र भित्रका (क) बर्गका अपांगता भएका ब्यक्ती, ७० बर्ष पुगेका जेष्ठ नागरिक र ६० बर्ष पुगेका जेष्ठ दलित नागरिकका लागि जुनसुकै स्वास्थ्य सस्थासम्म पुग्नको लागि एम्बुलेन्समा २५ प्रतिसत छुटको ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । ‘ख’ वर्ग, ‘ग’ र ‘घ’ बर्गका अपांगता भएका ब्यक्तिहरुको हकमा क्रमस १५, १० र ५ प्रतिशत छुट लागु हुने उनले जानकारी दिए ।
कार्यपालिका बैठकले ५ किलोमीटर सम्ममा एम्बुलेन्सको भाडा न्युनतम ५ सय निर्धारण गरेको छ । कच्ची सडकमा प्रतिकिलोमिटर १ सय र पक्की सडकमा ७५ रुपैयाँ भाडादर समेत कायम गरिएको छ । गाउँपालिकाले ३१ लाख ५० हजार रुपैया खर्च गरेर ३ वटा एम्बुलेन्स खरिद गरेको थियो । आफ्नै कार्यालयको बजेट तथा विभिन्न योजनाहरूबाट बचेको रकमबाट गाउँपालिकाले खरिद गरेका एम्बुलेन्स भोटेचौर , झिम्पे र दमाचौरका ३ वटा बर्थिङ सेन्टरबाट सन्चालनमा रहेका छन् ।
प्रतिक्रिया