क्यान्सर सेन्टरमा ब्राकिथेरापी सेवा

काठमाडौं । भक्तपुरको ताथली, नालारोडस्थित काठमाडौं क्यान्सर सेन्टरले बुधबारबाट हाई डोज रेट ब्राकिथेरापी सेवा सुरु गरेको छ ।

क्यान्सरहरूमा, विशेषगरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्वपूर्ण यो उपचार प्रविधि सुरु गरेपछि अब क्यान्सरका बिरामीले यस अस्पतालमा सहज उपचार पाउने भएका छन् । ३ वर्षदेखि सञ्चालनमा रहेको अस्पतालले विशेषगरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्वपुर्ण हुने उपचार प्रविधि भित्र्याएको हो ।

यो मेसिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी दिन सकिन्छ । आधुनिक ३–डी प्लानिङ सहितको उक्त विश्वस्तरीय प्रणाली क्यान्सरको उपचारमा निकै नै सुरक्षित र प्रभावकारी विधि मानिन्छ । शुल्कका हिसाबले पनि यो सेन्टरमा ब्राक्रिथेरापी शुल्क सरकारी अस्पतालहरूकै हाराहारीमा हुने अस्पताल प्रशासक सुदर्शन पौडेलले जानकारी दिए ।

क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर तीन वर्षअघि भक्तपुरको नाला रोड, ताथलीमा ‘काठमाडौं क्यान्सर सेन्टर’ सञ्चालनमा आएको हो । क्यान्सरको सम्पुर्ण उपचार उपलब्ध गराउने सोचका साथ सुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आएको छ ।

अत्याधुनिक लिन्याकबाट ३–डी रेडियोथेरापी, आई.यम.आर.टी तथा भिम्याट रेडियोथेरापी नियमित रूपमा दैनिक ६० जना बिरामीले पाइरहेका छन् । भारतमासमेत निकै कम अस्पतालमा उपलब्ध रहेको रक्त क्यान्सर र बोनम्यारो प्रत्यारोपणमा उपयोगी टोटल बडी इर्याडीकेशन र छालाको क्यान्सरमा टोटल स्किन इलेक्ट्रोन थेरापी नेपालमा काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै उपलब्ध छ ।

चिकित्सकहरूका अनुसार पाठेघर क्यान्सरको उपचारमा पाठेघरको अगाडि पिसाबथैली र पाठेघरको पछाडि ठूलो आन्द्राको तलको भाग रेक्टम हुन्छ । एक्ट्रनलविन रेडियोथेरापी दिँदा पाठेघर वरपर हुने यी अंगहरूले पनि रेडियसन पाउने र यिनीहरूको पनि निश्चित सहन सक्ने क्षमता हुन्छ । त्यस्तो अवस्थामा ब्राक्रिथेरापी दिँदा क्यान्सर भएको तन्तुलाई पनि चाहिने मात्रामा मात्र दिन सकिने र वरपरका नर्मल तन्तुलाई बचाउन सकिने हुन्छ । नेपालमा ब्राक्रिथेरापी मेसिन विभिन्न समयमा विभिन्न अस्पतालमा ल्याइएको भए पनि हाल काठमाडौंबाहिर भरतपुरमा मात्रै उपलब्ध छ ।

सीमित मेसिन हुँदा ती संस्थाहरूमा सेवाका लागि लामो समय कुर्नुपर्ने वा विदेशिनुपर्ने बाध्यता रहेको छ । क्यान्सर सेन्टरमा रेडियोथेरापीसँगै केमोथेरापी, प्यालिएटिभ केयर, रेडियोलोजी, फिजियोथेरापी, फार्मेसी सेवा छन र छिट्टै क्यान्सर शल्यक्रिया पनि सुरु हुने अस्पताल प्रमुख तथा क्यान्सर रोग विशेषज्ञ डा. सीमित सापकोटाले बताए ।

प्रतिक्रिया