धेरै वर्ष अगाडिको कुरो हो । जुन बेला दशरथरंगशालाको फुटबल मैदान हिलाम्ये हुन्थ्यो । ‘ए’ डिभिजन र ‘बि’ डिभिजनका अत्याधिक म्याचहरू खेलिन्थ्ये । मैदानले आराम गर्न पाउँदैन थियो । मैदान हिलोले गजगजी हुन्थ्यो । त्यस्तो मैदानमा फुटबल म्याचहरू घम्साघम्सी खेलिन्थ्यो । हिलाम्बे हुन्थ्ये फुटबल खेलाडीहरू । हिलोले गर्दा बल दौडाउन सकिन्थ्यो । खेलाडीहरू चिप्लिएर लड्दथे । प्याराफिटमा बसेका दर्शकहरू पेट मिचिमिचि हाँस्दथेँ । हाँसो र हिलोमा म्याचहरू चलिरहेका हुन्थे । रंगशालाको हिलाम्बे मैदानलाई व्यंग्य बनाएर एकजना कार्टुनिस्टले रंगशालाको बीचमा एकजना ज्यापूलाई खर्पन बोकेर उभिएको देखाए ।
उसले त्यहाँ एकजना व्यवस्थापकलाई सोधे– ‘यस हिलाम्बे फुटबल मैदानमा धान रोप्न कसलाई सोध्नुपर्छ ।’ बस यति नै थियो त्यो व्यंग्यचित्र । त्यस चित्रले समसामयिक खेलकूद जगतलाई ठूलो व्यंग्य गरेको, उपहास गरेको थियो । हिलोमा धान रोप्न पाए त पक्केै धान पाक्दथ्यो । यहाँ धान रोप्नु एक प्रतीक हो । धान व्यंग्य हो । त्यो कार्टुन चित्र त्यतिकै निहित भएन । त्यस कार्टुन चित्रले केही वर्षपछि दशरथ रंगशालाको कायापलट गरिदियो ।
स्टेडियमकोे काचुली फेर्नमा सेतुको रूपमा रह्यो त्यो कार्टुन । समाजमा देखिने वा सुनिने साना, ठूला घटनालाई व्यंग्यात्मक शैलीमा अतिरञ्जना मनन गरी चित्रमा उतार्ने काम गरिन्छ, कार्टुन चित्रमा । कार्टुनिस्टले सामाजिक विसंगति, राजनैतिक छेडछाड, उतार–चढावलाई विषय बनाउने गरेका हुन्छन् ।
कार्टुनकला एक विशुद्घ सिर्जना हो । कार्टुनिस्ट सिर्जनशील हुनुपर्छ । एक प्रसिद्घ कार्टुनिस्टलाई एउटा व्यंग्यचित्र बनाउन धेरै तनाव हुन्छ । मैले ‘सिर्जनात्मक कला महोत्सव–०७५’ अन्तर्गतको कार्टुन कार्यशाला तथा प्रतियोगितामा कार्टुनिस्ट रविन्द्र मानन्धर (अतिथि कलाकार) लाई धेरै गम्भीर भएर कार्टुन बनाउने विषय सोचेको देखेको छु । धेरै बेरको सोचपछि प्रसिद्घ कार्टुनिस्ट रविन्द्र मानन्धरले एक सटिक व्यंग्यचित्र बनाउनुभयो । त्यस व्यंग्यचित्रमा एकजना कुुकुर डो¥याएर हिडेको भद्र पुरुष मोबाइलमा फोन गरेर कसैलाई सुनाउँदै भन्छ, ‘र यो समेत हामीले सयवटा गाउँलाई खुला दिसामुक्त बनाइ सक्यौँ ।’ तर, उसको कुकुरले उसकै अगाडि नै दिसा गरिरहेको देखाएका छन् । रविन्द्रको यस कार्टुनले समसामयिक सामाजिक विषयमाथि सचेतनात्मक व्यंग्य गरेको पाइन्छ ।
प्रसिद्घ कार्टुनिस्ट वात्स्सायनले एकपटक भन्नुभएको कुरा स्मरण हुन्छ, ‘कार्टुनमा व्यंग्य र हास्यको संयोजन हुनुपर्छ । रेखाहरू सरल, बोधगम्य, स्पष्ट भएको अवस्थामा कार्टुनहरू राम्रा देखिन्छन् । कार्टुन जटिल हुनु हुँदैन, एक हेराइमा नै झट्ट बुझिने किसिमको कार्टुन हुनुपर्छ । जतिसक्दो कार्टुनमा अक्षरहरू कम हुनुपर्छ । यस कुरामा कार्टुनिस्ट धेरै सजग हुनुपर्छ ।’
वास्तवमा पात्रहरूको स्पष्ट भागभंगी प्रकट भएको कार्टुनलाई राम्रो मान्न सकिन्छ । रेखा चित्रमा नियन्त्रित रेखाहरूको अर्थात् संगीतको आरोह–अवरोहजस्ता रेखाहरू प्रकट हुन सकेको अवस्थामा कार्टुन बढी सुन्दर र आकर्षक देखिन्छ । कार्टुनमा नभई नहुने अति महत्वपूर्ण तत्व भनेको सन्देश नै हो । (स्रोत नेपाली प्रेसमा कार्टुन) ।
त्यसवेला ०४१ सालतिरको कुरा हो, मित्र जीवन आचार्य पनि खुब कार्टुन बनाउँथे । उनले बनाएका कार्टुनहरू ‘विमर्श’ पत्रिकामा छापिन्थ्यो । उनको एउटा कार्टुनको मलाई अहिले सम्झना भइरहन्छ । हाम्रा सहिदहरू अगाडि झुकेर नमस्ते गर्दै एकजना कष्टमय जिन्दगी बाँचिरहेका व्यक्ति भन्छन् । ‘ए मरेर जिउने सहिद हुनेहरू हो जिएर त हेर, त्यहाँ जिउन झन् गाह्रो छ ।’ (स्रोत नेपाली प्रेसमा कार्टुन)
विषय परिस्थितिले थिचिएको आम मानिसको पीडालाई जीवन आचार्यले व्यंग्य चित्रमा दर्शाएका छन् ।
त्यस्तै, अर्का मित्र उज्वल कुन्दन ज्यापूका कार्टुनहरू पनि ‘विमर्श’ मा धेरै छापिन्थ्यो । ‘पण्डितजी, यो साल पनि आर्शिवाद पाइन्छ कि भनेर सुगाबाट भविष्य हेर्ने पण्डितको अगाडि लोकेन्द्रबहादुर चन्द टुक्रुक्क बसेको कार्टुन पनि सटिक लाग्दथो । त्यस वेलाको समयमा प्रायः आर्शिवादबाट नै ठूलो नियुक्तिहरू हुने गर्दथ्यो ।
अतः कार्टुनले समसामयिक, राजनैतिक, सामाजिक विसंगतिहरूलाई उठान गरेको हुन्छ । सचेत गराएका हुन्छन् । दिशाबोध गराएका हुन्छन् । जति जति समाजमा विकास हुँदै जान्छ त्यति त्यति व्यंग्यचित्र, कार्टुनको आवश्यकता बोध हुँदै आउँछ । समाजलाई आँखा देखाउनुपर्छ । समाजलाई आँखा देखाउन कार्टुनले ठूलो भूमिका खेल सक्ने हुँदा नेपालमा कार्टुन विधाको विकास भइरहेको छ । संस्थागत, व्यवसायिक, प्राविधिक दृष्टिकोणबाट नेपाली कार्टुन समृद्घ हुँदै गइरहेको छ । अतः कार्टुनलाई सकारात्मक सोचमा परिवर्तन गर्न सिकौँ । कार्टुनको शक्ति पहिचान गरेर कार्टुनलाई स्वतन्त्र विचार संप्रेषण गर्न अवसर दिऊँ ।
प्रतिक्रिया