प्रयोगविहीन भए साना झोलुंगे पुल

कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवतजावतका लागि बनाइएका साना र छोटा पुलहरू प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा पुलहरूका कारण दशकौँ पहिला बनेका छोटा र होचा पुलहरू प्रयोगविहीन बनेका हुन् ।

अहिलेभन्दा सय वर्ष पहिला बागलुङको निरहे घाट र पर्वतको खनियाघाट जोड्नेगरी बनेको पुलका अवशेषसमेत बाँकी छैनन् । बागलुङका नन्दकुमार श्रेष्ठको सम्झना उनको परिवारले व्यक्तिगत लगानीमा उक्त पुल बनाएका थिए । पुल बन्नु पूर्वढुंगामा ओहोरदोहोर गर्ने बागलुङेहरूलाई पहिलोपटक कालीगण्डकी तर्न यसले सहज बनाएको इतिहासका जानकार काजी रोशन बताउँछन् ।

दश वर्ष पहिले नेपाल सरकारले नयाँ प्रविधिको ‘सपेन्सन ब्रिज’ निर्माण गरेपछि पुरानो पुलका सबै संरचना हराए । नयाँ बनेको पुलमा समेत मानिसहरूको आवतजावत निकै कम छ । मालढुङ्गामा मोटर चल्ने गरी ०५० सालमा पुल बनेपछि उक्त पुल प्रयोगविहीन अवस्थामा रहेको छ । निरहेको पुलमा अहिले घाँस दाउरा गर्ने र खेतिपातीका लागि वारिपारि गर्नेहरूले मात्रै प्रयोग गर्दै आएका छन् । निरहेको पुल बागलुङेहरूलाई पर्वत र त्यसभन्दा पूर्वका सबै क्षेत्रमा आवतजावतका लागि एक मात्रै विकल्पको रुपमा रहेको थियो । विकास क्रमसँगै बागलुङमा सवारी भित्रिए पछि पुलको प्रयोग घटेको काजी रोशन बताउँछन् ।

बागलुङको बलेवा क्षेत्र र पर्वतको सदरमुकाम कुश्मा बजार तथा बागलुङको जैमिनी क्षेत्र र पर्वतको फलेवास क्षेत्र जोड्ने गरी आधा दर्जनभन्दा धेरै छोटो दूरीका झोलुंगे पुलहरू बनेका छन् । बागलुङको कुस्मिसेरामा पर्ने जैमिनी घाट र पर्वतको देवीस्थान जोड्ने गरी १९९० सालभन्दा पहिला खानीगाउँका भवानीप्रसाद शर्मा र मोतीप्रसाद शर्माले झोलुंगे पुल निर्माण गरेका थिए । दक्षिण बागलुङका सर्वसाधारणको प्रदेश जाने र नून तेल ल्याउन बटौली जान कालीगण्डकी तर्ने एक मात्रै माध्यमको रुपमा रहेको उक्त पुल पछिल्लो समय मर्मतसमेत हुन सकेको छैन । १० वर्ष पहिलासम्म दैनिक हजारौँ मानिसको ओहोरदोहोर हुने उक्त पुलमा अहिले मुस्किलले महिनामा एक÷दुईजना मानिस आवतजावत गर्ने गरेको स्थानीय केदार शर्मा बताउँछन् ।

अहिले पनि उनीहरूले बनाएको पुल जीर्ण अवस्थामा रहेको छ । माघे संक्रान्तिको समयमा ०३० सालको दशकमा यो पुल चुडिँदा कैयौँ मानिसहरूको मृत्यु भएको जैमिनी नगरपालिकाका पुराना शिक्षक कृतिनाथ शर्माले बताए । चुँडिएको पुललाई पटक–पटक मर्मत गरेर बनाइएका संरचना अहिले पनि बाँकी छन् । पुरानो पुलभन्दा केही तल जैमिनी ऋषिको मन्दिर नजीकैबाट २०६० को दशकमा अर्को झोलुंगे पुल बनेपछि यो पुल प्रयोगविहीन अवस्थामा रहँदैआएको छ । जैमिनी घाटमा झोलुंगे पुल नजीकै प्रदेश सरकारको लगानीमा मोटर चल्ने पक्की पुल निर्माणको कामसमेत भइरहेको फलेबासका समाजसेवी भोलानाथ शर्माले बताए ।

समयको विकास क्रममा मानिसहरूका इच्छा र आवश्यकता बढेसँगै पछिल्लो समय बागलुङ र पर्वतका विभिन्न ठाउँहरू जोड्ने गरी अग्ला र लामा पुलहरू बनाउने क्रम बढ्दै गएको छ । कालीगण्डकीले बनाएको खोँचमा निर्माण भएका पुलहरूमा निर्भर रहेका यहाँका सर्वसाधारणलाई खोँच माथिबाट बन्ने पुलले सहजता प्रदान गरिरहेको छ । ०४५ सालदेखि कुस्मा र ज्ञादी जोड्ने झोलुंगे पुलको कल्पना गरिए पनि ०६७ सालमा आएर उक्त पुल निर्माण भएपछि बागलुङ र पर्वत जोड्ने अग्ला पुल निर्माणको लहर चलेको हो । मोदीखोलामाथि निर्माण भएको यो पुलको लम्बाइ ३ सय ४५ मिटर र उचाइ १ सय ३५ मिटर रहेको छ । त्यस्तै, कुस्मा–कैया झोलुंगे पुल ०७० फागुनदेखि सञ्चालनमा आयोे ।

योे झोलुंगे पुलका कारण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको ३ सय ४७ मिटर लामो र १ सय ५६ मिटर उचाइमा रहेको यो पुल एक करोड ५६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । पुल निर्माण भएसँगै यही पुलभन्दा तल खोँचमा रहेको कैया–कुस्मा जोड्ने गरी बनाइएको पुल प्रयोगविहीन अवस्थामा छ । ०६० सालदेखि ७० को दशकमा यो पुलको प्रयोग गरेर दैनिक तीन हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्थे ।

बलेवाकै नेपाने र कुश्मा जोड्ने अर्को सानो पुलसमेत घाँस दाउरा गर्नेहरूका लागि मात्रै भएको छ । साना र छोटा पुलहरूको प्रयोगमा कमी आउनुको अर्को कारण केबुलकार मोडेलको कुस्मा–बलेवा यान्त्रिक पुल हो । यो पुल ०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा पैसा तिरेर मात्रै आवतजावत गर्न सकिन्छ । यो पुल सञ्चालनका कारण पनि खोँचमा कालीगण्डकीमाथि बनेका पुलको प्रयोग घटेको बलेवाका स्थानीयवासी भरत पौडेलले बताए ।
यस्तै, केही दिन पहिला मात्रै बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण

थालिएको ‘सस्पेन्डेट डी टाइप’ को यो झोलुंगेपुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ । ‘सस्पेन्डेट डी टाइप’ को यो पुल नेपालकै लामो र अग्लो झोलुंगे पुल भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर÷बिएलटी÷थानी जेभी कन्स्ट्र«क्सनले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । यो पुलको निर्माण लागत १२ करोड २२ लाख १८ हजार ९ सय ५७ रुपैयाँ छ । बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिका जोड्ने गरी जैमिनी–५ बिनामारे र फलेबासको देवीस्थानमा पनि अर्को अग्लो पुल बनिरहेको छ । निर्माणाधीन दुवै पुलको काम सकिएपछि थप साना झोलुंगे पुलहरू प्रयोगविहीन बन्ने छन् ।

मानिसहरूको सुविधाका लागि नयाँ प्रविधिका अग्ला र लामा पुलहरू बनेका भए पनि पुरानाको पुलको पनि संरक्षण र प्रयोगको प्रवन्ध मिलाउनुपर्ने जानकारहरू बताउँछन् । ‘संरचना त्यसै बनेका होइनन्, ठूलो लगानी र तपस्याले बनेका हुन,’ पर्वतको खानीगाउँका समाजसेवी भोलानाथ शर्माले भने, ‘नयाँ बनेका संरचनाको उपयोग गर्दा पुराना संरचनाको सदुपयोगमाथि पनि सोच्नुपर्छ ।’

प्रतिक्रिया