कालीकोट । जातको आधारमा गरिने विभेद अपराध भएको राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त प्रकाश वस्तीले बताएका छन् । समाजमा अपराध कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुने भएकाले पीडा लुकाएर नबस्न उनले आग्रह गरे ।
आर्थिक वर्षको साउन यता जिल्लामा ३८ वटा उजुरी मध्ये छुवाछुत सम्बन्धीका उजुरी आठ ओटा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्यांकमा छ । जसमध्ये आठ ओटा घटनामा एक दलित जनप्रतिनिधिको त ज्यानसमेत गइसकेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए । उनले बालविवाहका कारण छुवाछुतका घटनामा वृद्धि भएको बताए ।
आइतबार जिल्लाको सदरमुकाम मान्ममा आयोजना गरिएको जातीय विभेद तथा छुवाछुत विरुद्धको अधिकार विषयक कार्यक्रममा बोल्दै आयुक्त वस्तीले जातको नाममा कसैले पनि विभेद गर्न नहुनेमा जोड दिएका थिए । कार्यक्रममा अन्य सहभागीले पुराना पुस्ताको स्वभाव तथा अशिक्षा, गरिबी बेरोजगारका कारणले व्यक्ति व्यक्तिबीच जातको आधारमा कालिकोटमा बढी विभेद हुने गरेको बताए । राज्यले संविधानमा भएका अधिकार कार्यान्वयनको पक्षलाई बेवास्ता गर्दा छुवाछुत हुने गरेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा मानवअधिकारकर्मी कालिबहादुर मल्लले कालिकोटमा जातीय विभेदकै कारण एक मात्र दूध डेरी उद्योग बन्द भएको बताए । मान्म बजारमा केही वर्षअघि हिमचुली कृषि सहकारी संस्थाद्वारा सञ्चालित डेरी उद्योगमा दलित समुदायहरूले पनि दूध, दही आउने हँुदा ब्राह्मण, क्षत्री लगायतले दूध र दही किन्न नआउने र गाउँबाटै खरिद गरेर ल्याउने हुँदा डेरी बन्द भएको मल्लले बताए ।
स्थानीय सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा पनि जननिर्वाचित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । जनप्रतिनिधि बन्नुअघि उनीहरूले समाजमा जे जस्ता समस्या भोगिरहेका थिए, त्यसमा कति पनि परिवर्तन आउन नसकेको कार्यक्रममा सहभागीहरूको गुनासो थियो ।
आफूजस्तै अन्य जनप्रतिनिधिको गाउँमा छुट्टै सम्मान प्रत्यक्ष देखेका उनीहरूलाई जनप्रतिनिधिबीच नै गरिएको विभेदले नरमाइलो अनुभव संगाल्न बाध्य बनाइरहेको छ । आफूहरूले जनताको सेवामा काम गर्ने गरेको भए पनि गैरदलितबाट सम्मान नपाएको उनीहरूको अनुभव छ । कसैले आफूहरूलाई नमस्कार गरे पनि व्यंग्य मिश्रित हुने गरेको दलित जनप्रतिनिधिको अनुभव छ ।
खाँडाचक्र नगरपालिका वडा–४ का वडाध्यक्ष धनसिंह कामिले, गैरदलितले आफूलाई नमस्कार गरे पनि व्यंग्यात्मक तवरले गर्ने गरेको उनको अनुभव छ । जिल्लाका अन्य स्थानीय तहमा पनि वडाध्यक्षदेखि माथिका जनप्रतिनिधिहरूमा यो समस्या देखिन थालेको छ । पुरानै संस्कृतिबाट हुर्केको समाजमा जातीय रूपमा दलितहरूप्रति हेर्ने दृष्टिकोण फरक भएका कारण सम्मानमा कन्जुस्याइँ हुने गरेको हो ।
कार्यक्रममा जिल्लाका विभिन्न ठाउँमा सहभागी दलित समुदाय र दलित अगुवाहरूले आफूहरूले बेहोर्दै आएका समस्याका वारेमा जानकारी गराएका थिए । सामाजिक चेतना र शिक्षाको कमीले गर्दा ग्रामीण क्षेत्रमा त बढी जातीय विभेद हुने गरेको उनीहरूले बताए । बढ्दो जातीय विभेदलाई न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्र्नेे सहभागीको जोड थियो ।
कालिकोटमा जातीय छुवाछुत न्यूनीकरण गर्न जिल्लाका विभिन्न क्षेत्रमा अभियान चलाइरहेको भए पनि कार्यक्रम लागूभएको क्षेत्रमै बढी जातीय घटना हुने गरेको छ । साझा आवाज परियोजनाले जिल्लाको नरहरिनाथ गाउँपालिकामा लागू भएको जातीय विभेद न्यूनीकरण सञ्चालनमा ल्याए पनि अझै सोही ठाउँमा जातीय विभेद बढिरहेको सहभागीले आरोप लगाए ।
प्रतिक्रिया