जोखना हराएको सत्य

हतपतको जोडले म काठमाडौंका रंगमञ्च छिरेको छैन । गाउँमा जनसांस्कृतिक परिवारको सदस्यदेखि अध्यक्ष हुँदा ताकाको रंगमञ्चको स्थानीय स्तरको प्रभाव ममा रहिरहेका छन् । पछिल्लो समयमा बालप्रतिभा मञ्च बनाएर क्षेत्रीय स्तरको नाटक मञ्चन गर्दै आएको कुरा पनि ताजा नै छ । त्यसबेलाको क्रान्तिको उभारले क्रान्तिकारी नाटकहरू मञ्चन गर्नु निकै राम्रो लाग्ने गथ्र्यो नै ।

गाउँमा देखाइएको भूपमणि राईको नाटक ‘विधुवा’ बाट अभिनयको सुरुवात गरेको बबुरालाई एक ताका नाटकको निकै रंग चढिसकेको थियो । बदला, वर्गयुद्ध, सयपत्री, जस्ता आधा दर्जन नाटक त आफँैले लेखेर मञ्चन गर्ने दुस्साहस नै गरियो । पछि, राजनीति र पत्रकारिताले झ्याप्प बाटो फेरियो । नाटक पढ्न मात्र थालिएको थियो । एक्कासी युवा कथाकार वियस राईको कथासंग्रह ‘हिउँमाझी’ बजारमा आयो । नेपाली कथाको महासागरमा निकै ठूलो सुनामी बनेर । जताततै हिउँमाझीको खोजी भयो र खोजी भइरहेको छ ।

नेपाली साहित्यको भिडमा अनुहार नौलो राई हिउँमाझीसँग बजारमा निस्केपछि उनी एकाएक स्थापित हुँदै गएका छन् । उनै राईको कथासंग्रहभित्र रहेको एउटा कथा ‘जोखना’ को आधारभूमिमा नाटकको मञ्चन हुने कुरा समाचारमा सुखद् भएर आएको थियो । कथाकार राईले मेरो कथाको नाटक बनाउन कलाकार तथा अभिनेता दयाहाङ राईले आग्रह गर्नुभएको छ भन्ने खबरसम्म दिएका थिए ।

 

मदन पुरस्कार बिजेता लेखक तथा उपन्यासकार राजन मुकारुङले हिउँमाझीलाई मिहिन हिसाबले बुझेका छन् । उनैले उक्त कथाको नाटकीय रूपमा ढाल्ने काम गरे । सामाजिक सञ्जालमा जोखनाको प्रचार सुरु भयो । सुरुमा नाटक फेस्टिभलमा यसलाई सहभागी गराइयो र ८ चैतबाट थिएटरमा नियमित मञ्चन सुरु भएको छ ।

हिउँमाझीले छोएको मनलाई जोखना हेराउनै पर्छ भन्ने लागेर अनामनगरमा रहेको मण्डला थिएटरमा पुगियो । जहाँ किरण चाम्लिङद्वारा निर्देशित नाटक ‘जोखना’ चलिरहेको थियो ।

किराँतीहरू मृत्युसंस्कारलाई प्राकृतिक मान्छन् । उनीहरूको संस्कार, संस्कृति र परम्परामा अत्यन्तै प्राकृतिक विश्वास रहेका छन् । ‘मान्छे मरेपछि स्वर्ग’ भन्ने परिकल्पना निकै टाढा छ किराँत राईमा । मृत्युपछि जाने ठाउँको बारेमा यात्रा तय गर्ने मध्यस्तकर्ताको रूपमा नोक्छुङको प्रयोग हुन्छ । धामी सेलेमी र कुविमी दुई प्रकारको हुने भए पनि बाटो लगाउने मृत्यु अनुसार सेलेमी या कुविमीले लगाउनु पर्दछ । यसै मेसोमा जोखनामा सेलेमीको प्रयोग भएको छ । नाटकको केन्द्रीय पात्र हुन्, जसे । राजनीतिक द्वन्द्वको वेला साकेला नाच्न गएको जसे एकाएक गाउँबाट बेपत्ता हुन्छ । घरबाट साकेला नाच्न जाँदा ढोल काँधमा हालेर रातोभाले बोकेर भूमे पुज्न गएको जसे बेपत्ता हुँदा देशमा निकै ठूलो द्वन्द्व रहेको छ । र त्यही द्वन्द्वकै क्रममा जसेलाई कसैले कतै बेपत्ता बनाउँछ ।

यता परिवारमा जसेको सानो छोरा निछा र श्रीमती धनुसुवाले जेनतेन जीवन धान्दै सम्झिनेबाहेक के गर्न सक्छन् र ? अरुले जे गर्छन् त्यही गर्नु उनीहरूको बाध्यता हुन्छ । पछि एक्कासी जसे मरेको हल्ला चलाइन्छ । वेलाबखत भाउजुकोमा आएर जिस्काउने जसेको भाईले नै यो हल्ला सुरु गर्छ । हल्ला सुनेपछि धनसुवाले सेलेमीलाई जोखना हेराउँछिन् । धागोमा हेरिएको जोखनाले जसे नभएको कुरा सेलेमीले भन्छ । त्यही कुरालाई आधार मानेर गाउँका वात्वुङहरूको सल्लाह हुन्छ । र जसेको अन्तिम काजक्रिया स्वरूप जसेलाई सेलेमीले ढोल ढ्यांग्राका साथ चिन्ता बसेर बाटो लगाउँछ ।

राजनीतिक हिसाबले द्वन्द्वको व्यवस्थापन हुन्छ । धनसुवाको छोरा निछा दुःखलाई सुःखमा बदल्न लाहुरको सपना बोकेर घर छोड्छ । विस्तारै गाउँमा विकासका कामले प्राथमिकता पाउँछन् । गाउँमा सडक खन्ने यातायातको साधन भित्र्याउने सपनाहरूको बीजारोपण हुन्छ । जसोतसो गाउँमा हाँसो खुसी र ठट्टा मसला चलिरहेकै हुन्छ । यसैवेला बेपत्ता जसे गाउँमा आइपुग्छ । संस्कार अनुसार काजक्रिया गरिसकेको मान्छे फर्केर आएपछि सबै मुखामुख हुन्छन् । आफूलाई निछाम्पा हुँ भन्ने परिचय दिँदै आएको जसेले जब आफू मरिसकेको र आफ्नो क्रियाकर्म समेत सकिसकेको कुरा थाहा पाउँछ । उ गाउँबाट फेरी जुनबाटो आयो त्यही बाटा फर्किन्छ । खास कथा यही हो, र हेरिएको पनि यत्ति हो ।

जोखना हेरिसकेपछि नेपालमा राजनीतिक द्वन्द्वले आदिवासी जनजातिहरूको संस्कृतिमाथि कति प्रहार गरेको रहेछ भन्ने प्रश्न उठाएको छ । किराँत राई समुदायले नाचेको साकेलाबाट कति जसेहरू यसरी बेपत्ता पारिएका होलान् ? प्रश्न उठ्छ । ती बेपत्ताहरू के कस्तो अवस्थामा होलान् ? संस्कारअनुसार उनीहरूलाई मृत या जीवित के भन्ने ? गम्भीर कुराको उठान नाटकले गरेको छ । यतिवेला राजनीतिक हिसाबले बेपत्ता भनिएको भोजपुरका नविन राईहरूको याद आउने रहेछ ।

नाटकमा गाउँमा चलेको हल्ला र सेलेमीको जोखनाको आधारमा जसेलाई बाटो लगाइयो तर जसे मरेकै थिएन । सेलेमीको जोखना झुट देखियो । यसले किराँत राईले विश्वास गर्ने संस्कारमाथि शंकाको बिउ रोपेको छ । सेलेमीले हेरेको जोखाना र उसले लगाएको बाटो किन सत्य रहेन । यसको जवाफ पनि नाटकको संवादमै आएको छ । जुन मुल विषयका रूपमा नाटकमा चित्रण गरिन्छ । किराँत राईले पुज्ने तीनढुंगा गाडेर बनाइएको चुला (सुप्तुलुङ) ले अदृश्य वचन दिन्छ । सत्यता हरायो । प्रकृतिलाई पुज्न छाडेपछि आफ्नो संस्कारहरू त्याग्न थालेपछि मानिसमा सत्यता डग्दै जान्छ । सेलेमी पनि अन्तिम सत्य थिएन । तर, सबैले मान्दै आएका भए सत्य कुनै हालतमा डग्दैन थियो ।

नाटकमा किराती परम्परा जो छ, सजीव लाग्नेगरी उठाइएको छ । खोलाबाट बग्दै बग्दै गएको माछा पनि समुन्द्रमा पुगेपछि फर्किन्छ । हिमाललाई चटक्कै नाघिजाने क¥याङकुरङ पनि फर्की आउँछ । भने त्यो समय कसो नआउँला आशावादी बनाउँछ । यसभित्र प्रयोग भएको प्रत्यक्ष संगीत, लोरीको भाका, पात्रहरूको जीवन्त प्रस्तुति, काम गर्दा गरिने हाँसीमजाक सबै उतिकै मिठासयुक्त लाग्छन् ।

कथाकार वियस राईले सोलु सल्यानको पृष्ठभूमिमा बसेर कथा लेखे । मूलकथामा प्रयोग भएका शब्दहरू कथाकार राईको मातृभाषाबाट प्रभावित छन् । उनी थुलुङ राई बाहिङ समुदायमा हुर्किएका । उनको कथाले ती केही कुरा बोक्नुपर्छ नै । कथामा आएको भूगोल नै नाटकका लागि भर्जिन भूगोल हुने थियो । यद्यपि, कथाको नाटकीय रूप लेखक तथा उपन्यासकार राजन मुकारुङको हातमा परेको प्रत्यक्ष भान हुन्छ ।

त्यहाँको परिवेश र बान्तवा भाषाको प्रयोगले फरकभाषी दर्शकलाई बुझ्न अलिक गारो बनाउँछ नै । किराँती थिममा नाटकको निर्देशन किरण चाम्लिङले गरेका छन् । यो पनि कम चानचुने कुरा रहँदै रहेन । नाटकमा रहेका संगीता थापा, रूपेश लामा, सञ्जीव राई, मनहाङ लावती, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईको अभिनयले कथाको मर्मलाई टपक्क टिपेर शिरमा पु¥याइदिएको छ ।

प्रतिक्रिया